२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

कांग्रेसमा महाधिवेशन : सधैंको पीर !

hardik ivf
मध्यान्ह
२०८१ मंसिर २८ गते ०८:२४
कांग्रेसमा महाधिवेशन : सधैंको पीर !

काठमाडौं : नेपाली कांग्रेसका नेताहरू १५औं महाधिवेशन केन्द्रित हुन थालेका छन् । डा. शेखर कोइराला देश दौडाहमा छन् । यहीबेला कोइरालापक्षधर नेताहरूले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय खोलेका छन् । 

कांग्रेसको १५औं महाधिवेशनको मिति तय भएको छैन तर सभापतिका आकांक्षी शेखर कोइराला पक्षधर नेताहरू काठमाडौंमा सम्पर्क कार्यालय खोलेर प्रचारमा जुटिसकेका हुन् । 

नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरेलगायतले काठमाडौंको अनामनगरमा बिहीबार सम्पर्क कार्यालय खोलेका हुन् । घिमिरे नेता कोइरालानिकट नेता हुन् । 

नेताहरूका अनुसार सम्पर्क कार्यालय घिमिरेको संयोजकत्वमा छ, जसमा देवराज चालिसे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, गोमा के. सी., टेकराज पौडेल, केशव सिंह, मेदिनी सिटौलालगायत छन् । 

नेताहरूकाअनुसार कार्यालय खोलेर प्रचारमा जुट्नुको प्रमुख उदेश्य हो, १५औं महाधिवेशनको तयारी गर्नु र सभापतिमा शेखर कोइरालाको पक्षमा लविङ बढाउनु । सभापतिको तयारीमा रहेका कोइराला देश दौडाहामा पनि छन् । 

२०७८ मंसिरमा कांग्रेसले १४औं महाधिवेशन गरेको थियो । कांग्रेस विधानमा महाधिवेशन हरेक ४/४ वर्षमा हुने उल्लेख छ । यसअनुसार समयमै महाधिवेशन गरे २०८२ मंसिरभित्र १५औं महाधिवेशन गर्नुपर्छ । यसअघि महासमितिको बैठकमै महामन्त्री गगनकुमार थापाले २०८२ मंसिरभित्र १५औं महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए, जसलाई महासमितिको बैठकले स्वीकृत गरेको थियो । 

महासमितिबाट स्वीकृत १५औं महाधिवेशनको कार्यतालिकामा २०८२ असोजमा विधान महाधिवेशन गर्ने उल्लेख छ । वडा अधिवेशन, गाउँ, नगर अधिवेशन गर्दै २०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरी केन्दीय महाधिवेशन प्रतिनिधि टुंगो लगाउने कार्यतालिका छ । २०८२ असोज मसान्तभित्र जिल्ला, कात्तिक मसान्तभित्र प्रदेश र मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने छ ।

यो कार्यतालिकाअनुसार १५औं महाधिवेशन हुने/नहुने टुंगो छैन तर शेखर कोइराला पक्षधर नेताहरू महाधिवेशन केन्द्रित तयारीमा जुटेका हुन् । नेताहरूका अनुसार १५औं महाधिवेशन कार्यतालिका अनुसार गराउन कांग्रेस केन्द्रीय समितिलाई दबाब दिन पनि सम्पर्क कार्यालय खोलिएको हो । 

२०७८ मंसिरमा भएको १४औं महाधिवेशनमा शेखर कोइराला सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए । उनी फेरि सभापतिमा चुनाव लड्दै छन् । 

सम्पर्क कार्यालयमा पार्टी केन्द्रीयकार्यालय सानेपामा सभापति देउवाकै जस्तो कोइरालाको पनि छुट्टै कोठा राखिएको छ । कोइरालाले बालुवाटारस्थित विशालनगरमा सम्पर्क कार्यालय संचालन गर्दै आएका छन् । आफू निकटका नेता तथा कार्यकर्ता भेटघाट सोही सम्पर्क कार्यालयबाट गर्दै आएका कोइरालाले अर्को सम्पर्क कार्यालय खोजेर सभापतिको उम्मेदवार रहेको सन्देश दिएका हुन् । 

१५औं महाधिवेशन समयमै हुन्छ कि हुँदैन भन्ने मुख्य चासो रहेकाले दबाब दिन कोइरालाले काठमाडौंमा सम्पर्क कार्यालय खोलेर केन्द्रीय समितिलाई दबाब दिइने नेताहरू बताउँछन् । 

टोल, वडा, गाउँ, नगर, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनपछि मात्र केन्द्रीय महाधिवेशन हुन्छ। वडा अधिवेशन सुरु गर्नुअघि क्रियाशील सदस्यको टुंगो लाग्नुपर्छ। यी कुनै पनि काम सुरु नभएकाले महाधिवेशन कार्यतालिका औपचारिक रूपमा आउन सकेको छैन ।

नयाँ क्रियाशील सदस्य वितरणका लागि फारम जिल्लादेखि वडा कार्यसमितिसम्म पुर्‍याए पनि वितरण तथा नवीकरणको काम तीव्र गतिमा हुन नसकेको नेताहरू बताउँछन् । 

विगतमा पनि कांग्रेसको महाधिवेशन ४ वर्षमै नहुने गरेकाले यसपटक पनि समयमै हुनेमा आशंका रहेका बेला संस्थापनइतर नेताहरूले महाधिवेशन केन्द्रित गतिविधि गरेर दबाब सिर्जना गर्न लागिपरेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise