काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रको विद्यमान झन्झटिला र अव्यवहारिक प्रावधान तत्काल हटाउन माग गरेका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँड, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा तथा वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कुमारप्रसाद दहाललाई छुट्टा–छुटै भेटेर व्यवसायीहरूले गुनासो बिसाएका हुन् ।
पछिल्ला केही दिनयता वैदेशिक रोजगार व्यवसायीहरूले आफूले झेलेका समस्याबारे दल र सरोकारवालाको ध्यानाकर्षण गराइरहेका छन् । यही क्रममा कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका पदाधिकारीलगायतले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादव र विभागका महानिर्देशक दाहालसहित कांग्रेस नेतालाई भेटेका थिए । सत्तारूढ नेकपानिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले विभागका नवनियुक्त महानिर्देशक दाहाललाई भेटेका थिए ।
मुलुकको वैदेशिक रोजगार क्षेत्रमा धेरै प्रकारका समस्या रहेका भएपनि बुधबारको भेटमा व्यवसायीहरूले विदेशस्थित नेपाली दूतावासहरूको डिमाण्ड प्रमाणीकरणमा रहेको समस्या , फ्रि भिसा फ्रि टिकटको सरकारी निर्णयले उत्पन्न गराएको समस्या, म्यानपावर कम्पनीको लाइसेन्स नवीकरण गर्न प्रत्येक वर्ष म्यानपावर कम्पनीहरूले अनिवार्य रूपमा सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको हुनुपर्ने, वैदेशिक रोजगार ऐन नियमावलीको व्यवस्था र पुनः विज्ञापन गर्नु पर्ने व्यवस्थाले अनावश्यक हैरानी पाएको बताए ।
एशोसियसनका पदाधिकारीहरूले बुधबार बिहान शुरुमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापालाई भेटेका थिए । भेटमा एशोसियसनका पदाधिकारीहरूले वैदेशिक रोजगारमा रहेका मध्ये वैदेशिक रोजगार ऐन २०६४ को संशोधन र वैदेशिक रोजगार (पाँचौं ) संशोधन नियमावलीमा म्यानपावर कम्पनीको नवीकरणसम्बन्धमा गरिएको व्यवस्थामा विरोधाभाष रहेको भन्दै नियमावलीको व्यवस्था परिवर्तन गर्न माग गरेका थिए । त्यसमा नेता थापाले आफूहरूले त्यस विषयमा पहल गर्न व्यवसायीहरूलाई आश्वासन दिएको एशोसियसनका महासचिव भवानी निरौलाले जानकारी दिए ।
नेता थापालाई भेटेपछि एशोसियसनका पदाधिकारी तथा सल्लाहकारहरूले प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडलाई भेटेका थिए । सचेतक खाँडसगको भेटमा पनि एशोसियसनका पदाधिकारीहरूले विदेशस्थित नेपाली दूतावासहरूले डिमाण्ड प्रमाणीकरणमा रहेको समस्या , फ्रि भिषा फ्रि टिकटको सरकारी निर्णयले उत्पन्न गराएको समस्या, म्यानपावर कम्पनीको लाइसेन्स नवीकरण गर्न प्रत्येक वर्ष म्यानपावर कम्पनीहरूले अनिवार्य रूपमा सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको हुनुपर्ने वैदेशिक रोजगार ऐन नियमावलीको व्यवस्था र पुनः विज्ञापन गर्नुपर्ने व्यवस्थाले अनावश्यक हैरानी दिएको दोहो¥याएका थिए । एशोसियसनका अध्यक्ष नरेन्द्रप्रसाल ढकाल, महासचिव निरौला र एशोसियसनका पूर्वअध्यक्ष सुजित श्रेष्ठले सचेतक खाँडलाई समस्या सुनाएका थिए ।
प्रतिउत्तरमा नेता खाँडले विद्यमान पद्धतिले ऐनको मस्यौदादेखि पारित गर्ने प्रक्रियासम्म प्रतिपक्षी दललाई भूमिका दिइने तर ऐनको कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली सरकारले मन्त्रिपरिषद्बाट पारित गर्ने व्यवस्था रहेको जानकारी दिँदै ऐनविपरीत आएको नियमावलीको व्यवस्था सरकारले सच्चाउनुपर्ने बताएका थिए । सरकारले नसच्चाए न्यायालयको आदेश लिएर भए पनि सुधार गर्नु पर्ने मत नेता खाँडको छ । वैदेशिक रोजगार व्यवसायीहरूको सामूहिक समस्या समाधानमा नेपाली काँग्रेसले सहयोग गर्नु आश्वासन पनि उनले दिएको भेटमा सहभागी एक व्यवसायीले जानकारी दिए ।
खुला बजारको हिमायती काँग्रेसले वैदेशिक रोजगारलाई प्रवद्र्धन गर्ने तर नियन्त्रित अर्थ व्यवस्थाका हिमायती कम्युनिस्टहरूले वैदेशिक रोजगारलाई नियन्त्रण र संकुचन गर्ने परस्पर विरोधी दृष्टिकोण रहेका कारण सरकारसंग सहकार्यमा असजिलो भएपनि समस्या समाधानका लागि उच्चतम प्रयत्न गर्ने खाँडले बताए । विगतमा म्यानपावर कम्पनीहरूको धरौटी घटाउने वा वर्गीकरण गराउँदा आफूहरू तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको कार्यकक्षमै पुगेको स्मरण गर्दै नेता खाँडले आगामी दिनमा पनि सोहीस्तरमा पहल गर्ने आश्वासन दिए ।सचेतक खाँडले पेशा व्यवसाय मर्यादित हुन नसकेका कारण केही समस्या रहेको भन्दै व्यवसायीहरू कामदारप्रति इमान्दार बन्नसमेत आग्रह गरे ।
प्रमुख सचेतक खाँडसँगको भेटका क्रममा एशोसिएसनका अध्यक्ष ढकालले कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतले माउ पार्टी नेपाली कांग्रेसमा निर्वाचित सभातिलाई पूर्ण रूपमा काम गर्न पाउनुपर्ने पक्षमा एशोसिएसन रहेको जानकारी दिएका थिए ।
सचेतक खाँडपछि एशोसियसनका पदाधिकारीहरूले विभागका महानिर्देशक दहाललाई भेटेका थिए । महानिर्देशक दहालसंग पनि एशोसियसनका पदाधिकारीहरूले विदेशस्थित नेपाली दूतावासहरूले डिमाण्ड प्रमाणीकरणमा रहेको समस्या , फ्रि भिषा फ्रि टिकटको सरकारी निर्णयले उत्पन्न गराएको समस्या, म्यानपावर कम्पनीको लाइसेन्स नवीकरण गर्न प्रत्येक वर्ष म्यानपावर कम्पनीहरूले अनिवार्य रूपमा सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको हुनुपर्ने, वैदेशिक रोजगार ऐन नियमावलीको व्यवस्था र पुनः विज्ञापन गर्नुपर्ने व्यवस्थाले अनावश्यक हैरानी दिएको विषय हुबहु उठाए । महानिर्देशक दाहालले त्यसअघि नै सत्तारूढ नेकपानिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले विभागका नवनियुक्त महानिर्देशक दाहाललाई भेटी उल्लेखित समस्या सविस्तार सुनाएका थिए ।
दुवै संगठनको भेटमा व्यवसायीहरूले सरकारी निकायहरू खासगरी विदेशस्थित नेपाली नियोगहरूमा रहेको ढिलासुस्तीको जमेर विरोध गरे । संगठनको तर्फबाट रामप्रसाद भान्तना,चित्र गुप्त साँवा लिम्बु, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ, मञ्चका सस्थापक सरोजकुमार पोखरेल, मञ्चका पूर्वअध्यक्ष टंक राउत ,संघका पूर्वद्वितीय उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, मञ्चका उपाध्यक्ष गोविन्द कटुवाललगायतले विभागदेखि कूटनीतिक नियोगहरूका समस्या उठाए ।
दुवै पक्षका व्यवसायीहरूले उठाएका समस्या र भनाइ नवनियुक्त महानिर्देशक दाहालले एक जिज्ञासुको शैलीमा सुनेका थिए । व्यवसायीहरूका जिज्ञासाको जवाफ दिदै महानिर्देशक दाहालले वैदेशिक रोजगार क्षेत्रले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानबारे आफू पूर्णतः जानकार रहेको भन्दै व्यवसायीहरूका जायज समस्या समाधान गर्न हात नकमाउने बताए । उनले भने, ‘मैले निरन्तर समस्या सुनिरहेको छु , मन्त्रालयमा पनि छलफल चलाइरहेको छु । विदेशस्थित नियोगहरूमा पनि कुराकानी गरिरहेको छु । विदेशस्थित नियोगमा कर्मचारीले शुभलाभका नियतले दुःख दिएका छन् भने प्रमाणसहित पेश गर्नुहोस ्। कारवाही हुन्छ ।’
त्यसअघि मञ्चका उपाध्यक्ष गोविन्द कटुवालले मलेसियास्थित नेपाली दूतावासमा कार्यरत श्रम सहचारी सनमाया सम्तेलले डिमाण्ड प्रमाणीकरण गरी अपलोड गर्न प्रति कामदार १२ रिंगेट माग गरेको बताएका थिए ।
महानिर्देशक दाहालले व्यवसायीहरू समस्या समाधानमा इमान्दार हुन नसकेको भन्दै सचेत गराउन भने छुटाएनन् । उनले भने, ‘समस्या आउनुलाई म अन्यथा मान्दिनँ । समस्या आउनासाथ समाधान गर्नु बुद्धिमानी हो , यहाँ उजुरी परेपछि पटक पटक व्यवसायीहरूलाई विभागमा बोलाएको तर व्यवसायीहरू सम्पर्कमा आउँदैनन् । सम्पर्कमा आउने,समस्या सुन्ने र समाधानमा अग्रसर हुनेहो भने धरौटी जरीवाना काट्न हामीलाई रहर छैन । विभाग व्यवसायीलाई पक्राउ गरेर थुनिहाल्ने निकाय होइन, छलफलमा विभाग आएको व्यवसायीलाई म थुनामा पठाउने छैन ।’
महानिर्देशक दाहालले विभागपनि व्यवस्थित हुन नसकेको बताए । ‘यहाँ लिखितम्भन्दा बकितम बढी चल्ने रहेछ,’ उनले भने, ‘सबै विषयमा निर्देशिका हुनुपर्ने हो । तर यहाँ त्यस्तो प्रबन्ध रहेको पाइएन म सबै विषयको लिखित निर्देशिका बनाउने तयारीमा छु । त्यसले कर्मचारी र व्यवसायी दुवैलाई बाध्ने छ ।’
त्यसपछि एशोसियसनका पदाधिकारीहरू पुगे मन्त्री यादवको कार्य कक्षमा । मन्त्री यादवको बधाई तथा शुभकामना ग्रहण गरेपछि एशोसियसनका अध्यक्ष ढकाल, पूर्वअध्यक्ष विमल ढकाल र महासचिव भवानी निारौलाले वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या राख्दै समाधानका लागि आग्रह गरे । मन्त्री यादवसमक्ष पनि व्यवसायीहरूले विदेशस्थित नेपाली दूतावासहरूले डिमाण्ड प्रमाणीकरणमा रहेको समस्या , फ्रि भिसा फ्रि टिकटको सरकारी निर्णयले उत्पन्न गराएको समस्या, म्यानपावर कम्पनीको लाइसेन्स नवीकरण गर्न प्रत्येक वर्ष म्यानपावर कम्पनीहरूले अनिवार्य रूपमासय जना कामदार वैदेशिक रोजगारीमा पठाएको हुनुपर्ने वैदेशिक रोजगार ऐन नियमावलीको व्यवस्था र पुनः विज्ञापन गर्नुपर्ने व्यवस्थाले अनावश्यक हैरानी पारेको विषय दोहोर्याए ।
एसोसियसन अध्यक्ष ढकालले सरकारी निकायका कारण वैदेशिक रोजगार अस्तव्यस्त रहेको , विगतका मन्त्रीहरूको सस्तो लोकप्रियतावादी निर्णयले सबैलाई समस्यामा पारेको भन्दै दुई करोड रुपैयाँ व्याजमा काडेर सरकारी खातामा धरौटी राखेपनि काम गर्न नपाएको भन्दै मन्त्री यादवको ध्यानकर्षण गराए । पूर्वअध्यक्ष विमल ढकालले मन्त्रालयमारहेको अस्तव्यस्ततार केही व्यवसायीमा रहेको बदमासीका कारण वैदेशिक रोजगारमा निरन्तर संकटमा रहेको भन्दै चाहेर पनि मन्त्रीको एक्लो प्रयासले समस्याहरूको समाधान नहुने भन्दै समस्या समाधानका लागि राष्ट्रिय सहमति निर्माण गर्न मन्त्री यादवलाई सुझाव दिए ।
मन्त्री यादवले आफू सुधारका लागि निरन्तर प्रयासरत रहेको व्यवसायीहरूलाई जवाफ दिए ।
आफू सबै पक्षमा सुधारको योजनामा रहेको भन्दै मन्त्री यादवले व्यवसायीहरूले गरिबी र विपन्न अवस्थामा रहेका कामदारहरूलाई छलछाम गरेर अनुचित तरीकाले विदेश पठाउन रोक्नुपर्ने जोड दिए । उनले भने, ‘नेपाली विदेशमा श्रम बेच्न जाँदा ऊ र परिवारले भोगेको पीडा व्यवसायीहरूले अन्तरहृदयबाट बुझेर व्यवहार गर्नुपर्छ । वैदेशिक रोजगारीमा जाने कामदारको त्यागको हामीले उच्च सम्मान गर्नुपर्छ, उसलाई कुनैपनि प्रकारले कानूनी दाउपेचामा पार्नु भएन । हातमा सीप छैन भने उसलाई वैदेशिक रोजगारीमा नपाठाऔं भन्ने मेरो मान्यता छ । यसमामा व्यवसायीहरू सचेत हुन मेरो आग्रह छ ।’ मन्त्रीले सुझाव संस्थागत लेखेर दिनसमेत एसोसिएसनलाई आग्रह गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies