चीन नेपालको अशल छिमेकी मुलुक मात्रै नभएर शान्ति र विकासका साझेदार देश पनि हो । उत्तरी सीमासँग जोडिएको चीनलाई नेपालले शान्त कुटनैतिक नीतिमा अडिग रहने देशका रुपमा लिदै आएको छ । एकअर्का देशको सार्वभौमतालाई सम्मान गर्ने दुवै देशको नीति रहेकाले चिनियाँ गतिविधिका कारण नेपालमा उति धेरै विवाद र आपत्ति देखिदैन । चीनसँगको सम्बन्धका बारेमा नेपालका सवैजसो दलहरु एक ठाउँमा उभिएका छन् । सधैं संस्थापनसँग सम्बन्ध कायम गर्ने चिनियाँ नीतिकै कारण हरेकजसो नेपालका प्रधानमन्त्रीले दृष्टिकोण समान देखिन्छन् । पछिल्लो चिनियाँ महात्वाकांक्षी परियोजना रोड एण्ड बेल्ट इनिसियटिभ (बीआईआर) बारे नेपालका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायत दलहरुको धारणा एउटै देखिन्छ ।
कुटनैतिक सम्बन्धमा प्रष्ट रहने, अर्का मुलुकको सार्वभौमता र संविधानको सम्मान गर्ने नीतिकै कारण चीनका राजदूत नेपालमा विवाद रहित देखिदै आएका छन् । जबकी, दक्षिणी छिमेक भारतका राजदूत सधैं नेपालमा विवादित रहने गरेका छन् । किनभने, नेपालको राज्य संयन्त्रको सूक्ष्म व्यवस्थापनसम्मै हस्तक्षेपको नीति लिने गरेको भन्दै भारतीय दूतावास र राजदूतलाई हेर्ने दृष्टिकोण नेपालमा नकारात्मक रहने गरेको देखिन्छ । हुन पनि भारतीय दूतावास नेपालको राजनीतिको शक्ति केन्द्र बन्ने मनसायबाट मुक्त हुन सकेको देखिदैन । सरकार फेर्ने, अस्थीरता निम्त्याउने, राज्य संयन्त्रका अंगहरुमा आफूले चाहेको व्यक्तिलाई देख्न चाहनेगरी भारतीय दूतावासबाट गतिविधि चल्दा नेपालको नागरिक तहमै भारतीय दूतावासलाई हेर्ने दृष्टिकोण राम्रो बन्न सकेको छैन ।
तर, यसपटक भने चिनियाँ राजदूतको गतिविधिका कारण नेपाल पत्रकार महासँघले आपत्ति जनाउने अवस्था सिर्जना भएको छ । नेपालको कुनै मिडियाले प्रकाशन गरेको सामग्रीको आधारमा दूतावासबाट बक्तव्य जारी गरिनुले कुटनैतिक मर्यादा माथि प्रश्न उठेको महासँघको बुझाइ छ । महासँघले यस्ता कार्यलाई सच्याउन र कुटनैतिक सम्बन्ध माथि प्रश्न उठ्न दिन नहुने माग समेत राखेको छ । अर्थात्, यसपटक चिनियाँ दूताबास विवादित बन्न पुगेको छ । नेपालको कुनै मिडियालाई चीन विरोधी गोटीका रुपमा चित्रित गर्ने कार्य भएकाले महासँघको आपत्ति स्वभाविक छ । यसले नेपालको सार्वभौमतामाथि समेत प्रश्न खडा गरेको छ । किनभने, यदि संहिता बिपरीत नेपालका कुनै मिडिया हाउस चलेमा त्यसका लागि नियमन गर्ने निकाय प्रेस काउन्सिल विद्यमान छ । यस्तो अवस्थामा सिधैं दूतावासबाट बक्तव्य आउनुले स्वयम् दूतावासतर्फ नै प्रश्न उठेको छ । यसलाई सच्याउनु नै दूतावासको विवेकपूर्ण निर्णय हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies