गोरखा : उत्तरी गोरखाका दुई गाउँपालिका धार्चे र चुमनुब्रीको सीमा विवाद सतहमा देखिएको छ । चुमनुब्री गाउँपालिकाले जगतमा स्वागतद्वार बनाउने क्रममा धार्चेले यथार्थ सीमाना पत्ता लगाएर मात्र काम थाल्न आग्रह गरेपछि विवाद सतहमा आएको हो ।
विवाद साम्य पार्न धार्चे–३ र चुमनुब्री–३ का वडाध्यक्षसहितको स्थानीयबासीको भेला बसेको थियो । भेलामा कुनै निश्कर्ष निस्कन नसकेपछि दुवै पालिकाका अध्यक्षसहित उपस्थित भएर अर्को भेला आयोजना गर्ने गरी टुंगिएको धार्चे–३ का वडाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए ।
सीमा विवाद नटुंगिपछि धार्चे–३ का बासिन्दाले जगत बगरमा बालुवा उत्खनन् गर्न रोक लगाएका छन् । चुमनुब्री–३ का बासिन्दाले निजी घर तथा पाङसिङ स्वास्थ्य संस्थाको भवन निर्माण गर्न जगत बगरमा बालुवा उत्खनन गरिरहेका थिए ।
भेलामा धार्चे–३ का बासिन्दाले भालुवनसम्म धार्चेको सीमाना दाबी गरेका वडाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए । ‘परापूर्व कालदेखि नै दूधपोखरी खोलासम्म धार्चे–३ को सीमाना हो भन्ने बुढापाकाको दाबी छ । त्यसैले अहिले स्वागत गेट बनाउनुभन्दा अघि नै यथार्थ साँध, सीमाना टुंग्याउनुपर्छ भन्ने हाम्रो सुझाव हो’, उनले भने, ‘तर शनिबारको भेलामा समझदारी बन्न सकेन । अब दुवै गाउँपालिकाका अध्यक्ष र एमक्यापसहितको भेला बोलाउने र छलफल गरेर टुंग्याउने समझदारी भएको छ ।’ हिमालदेखि दूधपोखरी खोलाको साँधसाँधै बूढीगण्डकी नदीसम्म धार्चेको सीमाना आफ्नो वडावासीले दाबी गरेको उनको भनाइ छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले नुर्बुभ¥याङदेखि नै मनास्लु क्षेत्र सुरु हुने भन्दै त्यहीँ साइनबोर्ड राखेको छ ।
चुमनुब्रीले भने यसअघिदेखि प्रचलनमा आएको नुर्बुभ¥याङ चौतारा नै दुई पालिकाको सीमाना रहेको दाबी गरेको छ । ‘हामीले थाहा पाएदेखि नै नुर्बुभ¥याङ चौतारा साँध हो । बूढापाका पनि त्यही भन्छन्’, वडाध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘नक्सा हेर्दा पनि साँध त्यहाँ नै देखाउँछ । तर धार्चेका साथीहरू मान्न तयार हुनुहुन्न । सल्लेरीसम्म धार्चे हो भन्ने दाबी गरिरहेको छ,’ धार्चेको नयाँ दाबी मनासिब नभएको उनको दाबी छ ।
दुवै पक्ष एक अर्काको तर्कमा सहमत हुन नसकेपछि भेला बिना निश्कर्ष टुंगिएको छ । टुंगो नलागेसम्म जगतसम्मको नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) पनि कसैले उपभोग गर्न नपाउने समझदारी बनेको छ ।