काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा पोखरामा ‘फेवा संवाद २०२४’ हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको पोखरा महानगरका मेयर धनराज आचार्यले जनाएका छन् ।
‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’ विषयमा आधारित कार्यक्रम बुधवारदेखि पोखरा–६ स्थित पोखरा इभेन्ट सेन्टरमा सम्पन्न हुन लागेको हो । कार्यक्रम शुक्रवारसम्म चल्ने छ ।
आचार्यले भने, ‘यस वर्षको फेवा संवादले दक्षिण एसिया, दक्षिणपूर्व एसिया र चीनबाट सहभागीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।’
उनले कार्यक्रममा अन्तर्राष्ट्रिय संगठनका नेता, थिङ्क ट्याङ्कका प्रतिनिधि, साथै अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित विज्ञ र विद्वानहरूको सहभागिता रहने पनि जनाएका छन् ।