वीरेन्द्रनगर : सुर्खेतको गुर्भाकोट नगरपालिका–८ खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुंगे पुल निर्माण हुने भएको छ । भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिलर स्थापना गरेर गुर्भाकोट नगरपालिका–८, १० र १२ नम्बर वडा जोड्ने तीनमुखे पुलको शिलान्यास गरिएको हो ।
नेपाली कांग्रेसका उपसभापति एवं सुर्खेत–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले पु्लको शिलान्यास गरे ।
सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका इन्जिनियर गोपाल थापाले खटाङमा नेपालकै लामो तीनमुखे पुल बन्ने बताए । उनले २०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको बताए । उनका अनुसार उक्त पुल १ दशमलव ६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुनेछ । नेपालमा निर्माण सम्पन्न भएका र निर्माण भइरहेका तीनमुखे पुलहरूमध्ये यो सबैभन्दा लामो हो ।
उक्त पुल निर्माणको काम २१ करोड १९ लाख ५ हजार ८५ रुपैयाँमा गीता कन्सट्रक्सनले पाएको छ । निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाइण्डेशन निर्माण सम्पन्न गरिसकेको छ ।