काठमाडौं : सर्वोच्च अदालत बार एसोसिएनको चुनावमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र समाजवादी कानुन व्यवसायी संगठन (एसपीएलए) बीच गठबन्धन बनेको छ ।
नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)निकट कानुन व्यवसायीहरूका यी दुवै संगठनले संयुक्त प्यानलसमेत घोषणा गरेका छन् । जसअनुसार डीएलएले अध्यक्षसहित १० सिट प्राप्त गरेको छ । एसपीएलएले उपाध्यक्षसहित ४ सिट प्राप्त गरेको छ ।
यस प्यानलबाट अध्यक्षका उम्मेदवार डीएलएका वरिष्ठ अधिवक्ता मेघराज पोखरेललाई घोषणा गरिएको छ ।
उपाध्यक्षमा एसपीएलएका अमरबहादुर राउतलाई अघि सारिएको छ । एसपीएलएबाटै महिला सहसचिवमा पुनदेवी महर्जन ‘सृजना’ र सदस्यमा दुर्गामोहन श्रेष्ठ, प्रदीप राजवंशी छन् ।
डीएलएबाट सचिवमा रमणकुमार कर्ण, कोषाध्यक्षमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत र खुला सदस्यमा इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, प्रमोद रेग्मी, पुरुषोत्तमप्रसाद लोहनी छन् । सर्वोच्च बारको नेतृत्व चयनका लागि पुस २० गते चुनाव हुँदै छ ।