२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका कैदी १४ वर्षपछि पक्राउ

ADV
क्षितिज किरण
२०८१ असार ८ गते १८:४७
कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका कैदी १४ वर्षपछि पक्राउ

कपिलवस्तु : कपिलवस्तु कारागारबाट २०६६ साल माघ २ गते सुरुङ खनेर फरार भएका प्रतिवादी भारतीय नागरिकलाई कपिलवस्तु प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका ८ जना कैदीमध्येका भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई कपिलवस्तु प्रहरीले १४ वर्षपछि नियन्त्रणमा लिएको हो ।

६ वर्ष ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना असुल उपर गरिनुपर्ने उनलाई जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ बाट कपिलवस्तु प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।

२०६६ माघ २ गते उनीसहितका ८ जना २१ फिट सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए । कारागारबाट भाग्नेहरुमा डाँका मुद्दामा कैद सजाय भोग्दै आएका मोहम्मद स्कुलसहित कर्तव्य ज्यान मुद्दाका रामजस मौर्य, प्रभु तेली र श्रवण कुमार मुराउ थिए । 

त्यस्तै लागुऔषध मुद्दाका सन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार साहनी, बगेदु मुसलमान र जबरजस्ती करणी मुद्दाका सन्तकुमार पासी कारागारबाट भागेका थिए । 

सुरुङ खनेर भागेका ७ जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । मोहम्मद स्कुल पक्राउ परेसँगै सुरुङ खनेर भागेका ८ जनै फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा १ सय २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जसबाट १ सय ४७ वर्ष १० महिना कैद भुक्तानी र १६ लाख १३ हजार ५ सय ४५ रुपैयाँ जरिवाना असुल हुनेछ । अपराध गर्ने व्यक्ति अनुसन्धान पूरा नहुदै फरार भएको भए अनुसन्धान पूरा गरी कारबाही अगाडि बढाउन र अदालतले सजाय तोकेका व्यक्तिको हकमा कानूनको दायरामा ल्याउन कपिलवस्तु प्रहरीले फरार अपराधी पक्राउ अभियानलाई प्राथमिकतामा राखेको हो ।

फरार प्रतिवादीहरुमा पनि ठूला अपराधमा संलग्नहरुलाई विशेष निगरानी गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । फरार प्रतिवादी पक्राउका लागि प्रहरीको विशेष टोली खटाइएको उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise