-सरिता तिवारी
भारतका एक प्रखर कविको चर्चित कविता छ, ‘अंधेरे में’ । त्यसमा एउटा खरो वाक्य छ, ‘पार्टनर, तुम्हारी पोलिटिक्स क्या हैं ?’ आजको लेख यही प्रश्नको वरिपरि घुमेको छ । लिटरेचर फेस्टिभलको मञ्चमा नाम चलेका एक लेखकको नयाँ किताब विमोचन कार्यक्रम चल्दै थियो । राजनीति कर्म र ‘जनपक्षीय’ (प्रचलित शब्दमा प्रगतिशील धारा) साहित्यमा बराबरी जोडिएका त्यस किताबका लेखकले आफ्ना ऊर्जाशील दिनहरू प्रगतिशील लेखनको विस्तार र उत्थानमा बिताएका छन् । भलै ‘प्रगतिशीलता’ अहिले दलविशेषको निरपेक्ष, अकिञ्चन समर्थक हुनु र वैचारिक दासत्व स्वीकार गर्नुसँग सरोकार राख्ने अर्थमा सीमित भएको छ, यो अर्कै कुरा हो ।
तर किताबमाथि बोल्ने एक वक्ताले सुरुमै न्यायाधीश शैलीमा सुनाए, ‘कुनै पनि लेखक आफैमा प्रगतिशील हो । लेख्नु आफैमा प्रगतिशील कदम हो । र, त्यो जेसुकै लेखे पनि हो । ...म उहाँलाई कुनै वादमा संकुचित गर्न चाहन्नँ ।’ लेखकको तारिफ गर्दैगर्दै उनले तिनको लेखनको मेरुदण्डमाथि नै प्रहार गरे । तर लेखकले यसको प्रतिवाद गर्न आवश्यक ठानेनन् । नेपालमा पछिल्लो समय प्रगतिशीलताको अर्थ खुइलिँदै गएकाले दिक्क लागेर हो वा त्यसको व्याख्या गर्ने, स्पष्टीकरण दिने ‘दुःखी’ काम गर्ने जाँगर नलागेर ? उनैलाई थाहा होला ।
दिमागमा धेरै दिनसम्म माथिका पंक्तिहरू घुमिरहे । यद्यपि यस्तो कुरा सुन्नुपरेको यही नै पहिलो मौका थिएन, न त यही नै अन्तिम होला । पटक–पटक, धेरै पटक यस्ता अभिव्यक्ति सुन्नुपर्दा यो विषयमा छलफल जरुरी छ भन्ने लागेको छ ।
लेखक भन्ने कुनै ‘उपल्लो कोटि’ प्राणीले कलम समाइदिने ‘महान् उद्यम’ गर्दिनासाथ त्यो प्रगतिशील भैदिइहाल्छ भन्ने यस्तो मतका ती वक्ता नै एक्ला पक्षधर होइनन् । लेखनमा कुनै किसिमको ‘वाद’ हुल्नु हुँदैन... लेखनमा राजनीति त झन् आउनै हुँदैन... आए पनि त्यसमा पक्षधरता हुनै हुन्न... त्यो प्राकृत र सहज हुनुपर्छ... कुनै खास पक्ष लिनु, खास विचार ‘थोपर्नु’ त्यसको नैसर्गिक चरित्रमा हस्तक्षेप गर्नु हो... इत्यादि । प्रगतिशीलताको बृहत् र खास अर्थलाई उपेक्षा गर्ने यस्तो धारणा जीवन र समाजका आधारभूत सत्यसँग भाग्ने चिन्तनको उपजभन्दा बढी केही लाग्दैन ।
केही पनि लेख्दिनासाथ कोही पनि प्रगतिशील हुन्छ भन्नु त्यति नै मूर्ख तर्क लाग्छ, जति गिदी भएकैले मान्छे बुद्धिमान् प्राणी हो भन्ने तर्क ! गिदी सूचनाका असंख्य तारहरूको समवेत गुजुल्टो मात्रै हो । मान्छे बुद्धिमान् बन्न उसले गिदीबाट प्रसारित बुद्धितत्त्वको उपयोग कसरी गरेको छ भन्ने हेर्नुपर्छ । ठीक त्यस्तै, लेखन एउटा सिर्जनशील ‘प्रयत्न’ हो । तर त्यो प्रयत्न हुनु नै प्रगतिशीलता होइन । त्यो किन, कसका लागि भएको छ भन्ने कुरा महत्त्वपूर्ण हो । यसको जाँच नगरी जेसुकै र जुनसुकै चीज कसरी प्रगतिशील हुन्छ ?
पछिल्लो समय ‘प्रगतिशील’ को अर्थ संकुचन हुँदैहुँदै दलविशेषको झन्डामा टाँस्सिएको, लेखनमा कम राजनीतिक दाउपेचमा ज्यादा सक्रिय (वा लेख्दै नलेख्नेसमेत) व्यक्ति नै प्रगतिशील हो भन्ने बनाइएको छ । जसरी हिजो राजारानीका वरिपरि घुमेर, तिनका प्रशस्ति लेखेर, तिनको जयजयकार गरेर, तिनको चाकरी गरी पद–पीठ पाउन र राज्यसंरक्षित मठाधीश बन्न सकिन्थ्यो, त्यही शैलीमा प्रशस्ति लेख्नेहरू, चाकरी गर्नेहरू नै ‘खाँटी प्रगतिशील’ मा दरिने भएपछि यो शब्द संकटमा परेको सत्य हो । त्यही भएर नै हो, प्रगतिशील लेखन र आन्दोलनमा लामो उमेर बिताएका पाका लेखक नै आफूलाई यतिखेर प्रगतिशील मान्न असुविधा प्रकट गर्छन् ।
लेखन एक प्रकारको उत्पादन हो । सोचको, विचारको उत्पादन । सोचहरू, विचारहरू इतिहासको बोधले बन्छन् । वर्तमानका सत्य–असत्य ठम्याउन इतिहास नबुझी सुख छैन अनि इतिहास घटना र मितिको ठेली मात्रै होइन, आज देखिने प्रभाव र परिणामको कार्यकारण हो भन्ने कुरा आम मानिसको पक्षबाट इतिहास चिन्तन गर्नेहरूले लगातार बताउँदै आएका छन् ।
मानिस आफै पनि इतिहासको उत्पादन हो । इतिहासभित्र धेरै कुरा छन् । शासकहरूका विजय र पराजयका चक्र मात्रै होइन, साधारण जनताका, जातिविशेषका, लिङ्गविशेषका सुस्केरा, दलन, उत्पीडन, आँसु, रगत, संकल्प, संघर्ष ...धेरै कुरा छन् । लेखन जिम्मेवारी हो भन्ने मान्नुहुन्छ भने, लेखन नितान्त निजी प्रयोजनको काम मात्रै होइन सामाजिक कुरा हो भन्ने मान्नुहुन्छ भने, यति धेरै कुराको कार्यकारण पत्तो नपाई, यी कुरासँग सरोकार नराखी ‘प्रगतिशील’ लेखक बन्ने सुविधा कसैलाई छ ?
विगतको संज्ञान र आजबारेको ठम्याइले लेखकको दृष्टि बनाउँछ । त्यही दृष्टि प्रकारान्तरले इतिहासको रेकर्ड मात्रै बन्दैन, गतिशील चेतनाको उत्प्रेरक पनि बन्छ । त्यस अर्थमा इतिहासलाई गतिमान बनाउन चेतनाको तहमा क्रियाशील हुनु वास्तविक अर्थमा प्रगतिशील लेखक हुनु हो । गतिशीलताको त्यो चेत उन्नत र अग्रगामी विचारको पोषणले तयार हुन्छ । यस्तो चेत निर्माण हुन प्रायः सत्ता बाधक बन्ने गरेको अनुभव छ, हामीसँग । सामन्तवादी मात्रै होइन, पुँजीवादी र साम्यवादी सत्तासमेत । त्यसैले जुनसुकै किसिमको विचारले चलेको सत्ता होस्, प्रगतिशील लेखक सत्ताका विचारको रक्षक बन्नु हुन्न, सत्तासँग दूरी बनाएर बस्नुपर्छ भन्ने मानिन्छ । यसरी प्रगतिशील बन्नु या बन्ने प्रयत्न गर्नु गौरवको कुरा हो । यस प्रकारबाट प्रगतिशीलताको अभ्यास गर्नु आज सबैभन्दा बढ्ता जरुरी छ ।
मान्छे स्वयम् इतिहासको उत्पादन हो भन्ने कुरा मान्ने हो भने, त्यो ठिङ्ग एक्लो र इतिहासशून्य उभिएको छैन भन्ने पनि मान्नुपर्छ । मान्छे स्पेसमा यत्तिकै तुर्लुङ्ग झुन्डिरहेको अद्भुत जीव पनि त होइन । भौतिक रूपमा एक्लो देखिने मान्छे मानसिक, सांस्कृतिक रूपले निरपेक्ष र एक्लो छैन । ऊ आफ्ना पूर्वजहरू हिँड्दै आएको इतिहासको बाटोमा उभिएको छ । त्यहाँ कथा छन् । संस्कृति छन् । घटना छन् । जीवनशैली छन् । र मुख्य कुरा ती सबै चीजबाट निर्मित एकमुस्ट परिणाम छ— वर्तमान । त्यसैले आजको कुरा गर्दा हिजोबारेको बोध सही हुनु आवश्यक छ । अतीतमाथिको सही बोधले नै आजको समयको लेखनलाई प्रगतिशील वा गैरप्रगतिशील बनाउने हो । त्यस अर्थमा लेखनमा ध्रुवीकरण र कित्ताकरण चाहिन्छ । इतिहासको उपेक्षा गर्ने, त्यसमाथि छलछाम गर्ने र त्यसको सत्य–सन्धान गर्ने सबै खाले लेखकलाई प्रगतिशीलताको एउटै बाक्सामा खाँद्न मिल्दैन ।
भौतिक वस्तुजस्तै लेखन पनि एउटा उत्पादन हो र उत्पादन कहीँ, कहिल्यै गैरराजनीतिक भएको मलाई थाहा छैन । चाहे त्यो स्थूल वस्तु होस्, चाहे चेतना अर्थात् विचार, कुनै पनि कुरा राजनीतिभन्दा बाहिर छैनन् । शिक्षक, बैंकर, व्यापारी, उद्योगपति, पत्रकार वा खेतीहर किसान, लोहार, मेहतर, गृहिणी, सुचीकार को को बन्न सक्ने वा को नबन्ने भन्ने कुरा जसरी ‘राजनीतिक’ कुरा हो, के लेख्ने, कसका लागि र किन लेख्ने, लेख्नका लागि आधारभूत विषय, विचार के हुने भन्ने कुरा पनि ठीक त्यसै गरी राजनीतिक कुरा हो । त्यस कारण लेख्नेबित्तिकै कोही पनि प्रगतिशील हुन्छ भन्नु कि बिलकुलै अपरिपक्व र ‘बचकाना’ तर्क हो कि सत्यमाथिको भद्दा मजाक ।
हरेक लेखन लेखुन्जेल लेखक एक्लैको भए पनि लेखिसकेपछि यो सामूहिक अभिव्यक्तिको कर्म हो । यसको असर व्यक्तिचेतनामा मात्रै पर्दैन, समाजमा पनि पर्छ । यति कुरा मान्ने हो भने लेख्ने काम पूरापूर राजनीति हो । जेसुकै लेखोस्, लेखकले या त व्यक्ति वा समाजको इतिहासबाट पलायन भएर मौनता वा जिब्रोचपाइको ‘कुट’ राजनीति गर्छ या इतिहासलाई बाङ्गोटिङ्गो र छद्म रूपमा देखाउने राजनीति गर्छ या आफ्नो विवेकको पूरापूर ‘गट्स’ उपयोग गरेर समय र घटनामाथिको ठोस मन्तव्य दिन्छ । लेखनमा हुँदै आएको यही हो ।
‘कुनै खास लेखकलाई कुनै खास विचारको कित्तामा राख्न नचाहनु’ वा कुनै लेखकलाई (वा लेखकले आफूलाई) कुनै विचारको पक्षपाती मान्नु दुवै राजनीति हो । लेखनमार्फत एक प्रकारको राजनीति गर्छु भन्ने हाकाहाकी विचार मात्रै राजनीति होइन, लेखकले राजनीति गर्नु हुँदैन वा लेखन राजनीतिक काम होइन वा लेखन कुनै वादको मानक बन्नु हुन्न भन्नु पनि उत्तिकै राजनीति हो । मानिसले सास फेर्नु वा सास फेर्न नपाउनु, पानी पिउनु वा पानीसम्म पिउन नपाएर तड्पिनु, खाना खानु वा भोकमरी लाग्नु, राम्ररी निदाउन पाउनु वा रातभर सन्त्रासले जाग्राम बस्न पर्नु आदि सामान्यभन्दा सामान्य लाग्ने यस्तो हरेक कुरा व्यक्ति बाँचेको समाजको राजनीतिमा निर्भर गर्छ भने सोचीसम्झी, भएभरको बुद्धि लगाएर लेख्ने कुरो गैरराजनीतिक क्रिया कसरी हुन सक्छ ?
लेखकले राजनीति गर्नु हुन्न वा लेख्नासाथ कोही पनि प्रगतिशील हुन्छ भनेर कोही बहस गर्न आयो भने त्यस्तो बहसको प्रस्थानविन्दु हुन्छ, ‘अरे पार्टनर, तिम्रो चैं पोलिटिक्स के हो ?’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies