२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

तीन तह जोड्ने दुई पक्की पुलको शिलान्यास

ADV
मध्यान्ह
२०८१ पुष ७ गते १६:२४
तीन तह जोड्ने दुई पक्की पुलको शिलान्यास

नुवाकोट : नुवाकोटमा एकैपटक तीन वटा स्थानीय तह जोड्ने पुलको शिलान्यास भएको छ । दुई स्थानमा एकै पटक शिलान्यास गरिएसँगै पक्की मोटरेबल पुलको निर्माण सुरु गरिएको हो । 

बागमती प्रदेश सरकारको आर्थिक लगानीमा बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका ३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुल र लिखु गाउँपालिका–३ र ककनी गाउँपालिका ३ जोड्ने कटरबोट सिन्दुरेखोलामा पक्की मोटरेबल पुलको निर्माण सुरु भएको हो । दुवै पुलको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले संयुक्त रूपमा एकैपटक शिलान्यास गरेका हुन् ।

वेलकोटगढी–१३ र लिखु गाउँपालिका ३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुल कुल आठ करोड ४६ लाख ४२ हजार चारसय ७४ रुपैयामा बन्ने छ । पुल ४१ दशमलव चार मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइ रहने छ । लिखु गाउँपालिका–३ र ककनी गाउँपालिका–३ जोड्ने कटरवोट सिन्दुरेखोलामा पक्की मोटरेबल पुल कुल पाँच करोड ८६ लाख २३ हजार आठसय १८ रुपैयाँको लागतमा बनने छ । २५ दशमलव ६ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको निर्माण योजना रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए । 

उनका अनुसार दुवै पुलमा पैदल यात्री हिँड्ने एक दशमलव दुई मिटर चौडाइको स्थानसहित निर्माण सुरु भएको हो । पुलको शिलान्यास गर्दै मुख्यमन्त्री बहादुरसिंह लामातामाङले दीर्घकालीन, गुणस्तरीय र प्रभावकारी रूपमा पुलको समयमै निर्माण गरेर सर्वसाधारणलाई सेवा दिनुपर्ने बताए । उनले विकासमा दलगत रुपमा हेर्न नहुने र आफूले पनि जनताको पक्षमा काम गरिरहेको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise