गुल्मी : गुल्मीको मदाने गाउँपालिकाले आयोजना गरेको प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । तीन जिल्लाको संगमस्थलमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र कंकेदेउरालीको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनका लागि ५ पुसदेखि ७ सम्म महोत्सव सञ्चालन गरिएको थियो ।
‘घुम्न जाऔं यसपाली कंकेदेउराली’को नारासहित आयोजना गरिएको महोत्सवमा खुला लोकभजन प्रतियोगिता, विद्यालयस्तरीय खोजी प्रतिभा (मदाने लोकतारा) कृषि मेला प्रदर्शनीसँगै चर्चित कलाकार प्रस्तुति दिएका थिए । महोत्सवमा आयोजना खुला लोक भजन प्रतियोगितामा गाउँपालिका भित्रका तीन भजन समूहले मात्रै सहभागिता जनाएको थियो ।
भजन प्रतियोगितामा आध्यात्मिक जागरण सांस्कृतिक समाज प्रथम, म्यालपोखरी भजन मण्डली दोस्रो र पुर्कोट महिला भजन मण्डली तेस्रो भएका छन् । प्रथम समूहले १५ हजार र प्रमाणपत्र, द्वितीय र तृतीयले क्रमशः १० र ५ हजारसहित प्रमाणपत्र पाएका छन् ।
महोत्सवमा लुकेर रहेको प्रतिभा पहिचानका लागि विद्यालयस्तरीय खोजी प्रतिभा अर्थात् (मदाने लोकतारा) सञ्चालन गरिएको थियो । जसमा मदाने गाउँपालिका भित्रका सातवटा माध्यमिक विद्यालयबाट ८० जना प्रतियोगी सहभागी थिए । सहभागीमध्ये चार जनालाई पुरस्कृत गरिएको छ भने अन्य सहभागीलाई सम्मान गरिएको छ ।
रियाले माध्यमिक विद्यालयका छात्रा मुना परियार प्रथम मदाने लोक तारा बन्न सफल भएकी छन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै सोही विद्यालयकी विद्यार्थी वर्षा परियार दोस्रो स्थान हासिल गरेकी छन् । उनले १० हजार र प्रमाणपत्र पाएकी हुन् । पृथ्वी माध्यमिक विद्यालयका छात्र अनुपम बिक तेस्रो र अग्लुङ माध्यमिक विद्यालयका छात्रा जालपा खत्री सान्त्वना भएको उपाध्यक्ष थापाले बताए । थापाका अनुसार तृतीयले ८ हजार र सान्त्वना हुनेले ५ हजारसहित प्रमाण पत्र पाएका छन् ।
त्यस्तै महोत्सवमा गाउँपालिका स्तरीय कृषि तथा पशुपक्षी मेला प्रदर्शनी गरिएको थियो । मेलामा सबै वडाबाट कृषि तथा पशुपक्षी मेला प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख हुमबहादुर थापाका अनुसार महोत्सवमा पालिका भित्रबाट एक सय आठ वस्तुहरू प्रदर्शनी भएको थियो । लोप हुन थालेका बालीलाई संरक्षण गर्न गुणस्तरीय चेकजाँच गरी स्थानीय र रैथाने बालीलाई महोत्सवमा प्राथमिकता दिइएको थियो । कृषि शाखाले गरेको मूल्यांकनबाट उत्कृष्ट किसान पुरस्कृत भएका छन् । प्रथमले ३ हजार, दोस्रो २ हजार पाँच सय तेस्रोले २ हजार र सान्त्वनाले ८ सय प्राप्त गरेका छन् ।
महोत्सव मैदानमा सांस्कृतिक कार्यक्रमहरूसँगै जिल्लास्थित उत्पादन हुने कृषि जन्य सामग्रीहरू, मनोरञ्जनात्मक पिङलगायत विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरूको विक्री वितरणका लागि राखिएको थियो । कृषि तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरूको प्रदर्शन गरिएको थियो । महोत्सवमा वरिष्ठ लोक तथा दोहोरी गायक बोम बहादुर कार्की लगायतका राष्ट्रियस्तरका कलाकारले प्रस्तुति दिएका थिए ।
महोत्सवमा १५ हजारले अवलोकन गरेका छन् । पर्यटकलाई लोभ्याउन यहाँ संग्रहालय, गौतम बुद्धको मूर्ति, फोहरा सहितको पोखरी, भ्यू टावर, पूजाआजाका लागि मन्दिर, बालबालिकाका लागि बाल उद्यान लगायतका थुप्रै संरचना निर्माण गरिएको छ । जसका कारण पर्यटकको रोजाइमा समेत पर्दै गएको छ । महोत्सवमा १५÷२० लाखको कारोबार भएको आयोजकले जनाएको छ ।