गएको नोभेम्बर १७ देखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वका १६२ देशका एक लाख ७४ हजार बढी बिरामी भएका छन् । त्यस मध्ये ६६८५ जनाको मृत्यु भएको छ भने ७८ हजार हाराहारी उपचारपछि घर फर्किएका छन् । बाँकी ९० हजार संक्रमित क्वारेन्टाइनमा उपचारत छन् । नेपालको उत्तरी छिमेक चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली मुलुकहरुमा समेत संक्रमण देखिएको छ । नेपालमा एक जनामा संक्रमण देखिए पनि सफल उपचार भइसकेको छ । तर, दक्षिणी छिमेक भारतमा संक्रमित संख्या बढिरहेको छ भने दुई जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमण विरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का कार्यकारी राष्ट्र प्रमुखहरुले साझा प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वब्यापी महामारीको घोषणा गरेको कोरोना भाइरस रोकथाम गर्न अहिलेसम्म नेपाल सफल देखिएको छ । धेरैले यसलाई संयोग भने पनि नेपालले अपनाएको सतर्कताले पनि रोकथाममा सहयोग पुगेको छ । उच्च संक्रमण भएको मुलुकहरुको उडान बन्द गर्ने र स्थलगत आवागमनमा गरिएको कडाईले पनि रोकथाममा सहयोग पुगेको हुनसक्छ । स्वास्थ्य मन्त्रालयले नेपाल अहिलेसम्म कोरोना भाइरसको संक्रमण रोक्न सफल भएको दावी गरेको छ । तर, अझै खतरामुक्त भने भइसकेको छैन । किनभने, चीनबाट शुरु भएको संक्रमण यूरोप हुँदै अमेरिकासम्म पुगेको छ र ती लगभग सवैजसो मुलुकमा नेपाली छन् । त्यसैले यसबारे सचतेता अपनाउन जरुरी छ ।
तर, यस्तो महामारीको संक्रमण तीव्र भइरहेका बेला नेपालमा कालोबजारीका पर्याप्त घटना देखिएका छन् । कोरोना भाइरसबाट जोगिन अति नै आवश्यक रहेको मास्क कालोबजारी भएको घटना सार्वजनिक हुनले कालोबजारी भइरहेको प्रमाणित हुन्छ । अझ दैनिक उपभोग्य वस्तुमा समेत गरिएको कृतिम अभाव र उपभोक्ताले मनमरी सञ्चित गर्ने विषय कम आपत्तिजनक होइन । यति संवेदनशील विषयमा कालोबजारी गर्नेमाथि कडा कार्बाहीको आवश्यकता रहेकोमा दुइमत छैन । संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरस विरुद्ध सिंगो मुलुक एकजुट हुन आवश्यक छ । छिमेकी देश चीनले एकतावद्ध भएर कोरोना भाइरस रोकथाममा गरेको सफलताबाट सिंगो विश्वले सिक्न जरुरी छ, नेपालले पनि सिक्नुपर्नेछ । बिपतको बेला एकताबद्ध भएर लड्नुपर्नेछ, महामारी फैलिए कसलाई आपत आइलाग्छन् भन्ने भर हुन्न । त्यसैले आफ्नै जीवन रक्षार्थ पनि यसबारे सोच्न आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies