२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मधेशमा स्वास्थ्य सकस

ADV
मध्यान्ह
२०८१ जेठ २० गते ११:१८
मधेशमा स्वास्थ्य सकस

–उज्वल झा 

मधेश प्रदेशको स्वास्थ्य स्थिति सुधार नहुनु दुर्भाग्यपूर्ण मात्र होइन, गम्भीर चिन्ताको विषय हो । प्रदेशका अस्पतालहरूमा आधारभूत स्वास्थ्य सेवा पनि उपलब्ध छैनन्, जुन अवस्थामा आम नागरिकहरू दिनहुँ ज्यान जोखिममा राख्दैछन् । 

हामीले नेपाल संघीय प्रणालीमा प्रवेश गर्दा सोचेका थियौं कि प्रदेश सरकारहरूले जनताको स्वास्थ्यमा विशेष ध्यान दिनेछन् । तर, मधेश प्रदेशको यथार्थ तस्बिर एकदमै निराशाजनक छ । अस्पतालमा आधारभूत औषधिहरूको अभाव, पर्याप्त चिकित्सकहरूको कमी, र पुरानो उपकरणहरूले स्वास्थ्य सेवा क्षेत्रलाई अत्यन्तै कमजोर बनाएको छ । 

संघ र प्रदेश सरकारहरूले यो विषयलाई प्राथमिकता दिन किन चुकिरहेका छन्  ? संघीय सरकार र मधेश प्रदेश सरकारबीचको तालमेलको अभाव, अनियमितता र भ्रष्टाचारले गर्दा मधेश प्रदेशका जनता स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । सरकारको यस उदासीनताले स्वास्थ्य समस्या जटिल हुँदै गएको छ । 

संघीय सरकारले प्रदेशहरूलाई पर्याप्त बजेट बिनियोजन गरे पनि, त्यो बजेटको सही सदुपयोग नहुनु नै समस्या हो । परियोजनाहरू आधा–अधुरा रहन्छन्, नयाँ स्वास्थ्य केन्द्रहरू निर्माणमा ढिलाइ हुन्छ, र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने सेवाहरूमा ध्यान दिइँदैन । 

उदाहरणका लागि, सर्लाही जिल्लाको मुख्य अस्पतालमा देखिएको अवस्थालाई लिन सक्छौं । त्यहाँको आपतकालीन सेवामा आवश्यक औषधि र उपकरणहरूको अभाव छ । चिकित्सकहरूको कमीले गर्दा बिरामीहरूले लामो समय पर्खनु पर्छ । यो अवस्थाले जनतामा निराशा पैदा गरिरहेको छ । 

महोत्तरीको जलेश्वर प्रादेशिक अस्पतालको हालत झन् नाजुक छ । यहाँ सानो तिनो स्वास्थ्य समस्याहरूको समाधान पनि सम्भव छैन । बिरामीहरूलाई जनकपुर प्रादेशिक अस्पतालमा रिफर गरिन्छ । तर, जनकपुर प्रादेशिक अस्पतालमा पनि स्थिति त्यत्तिकै बिग्रिएको छ । एउटा सामान्य पानी खानको राम्रो व्यवस्था समेत छैन भने, उपचार कसरी राम्रो हुनेछ ? जनकपुर प्रादेशिक अस्पतालमा आउने बिरामीहरूलाई धेरै समयसम्म पानी समेत नपाउँदा उपचार प्रभावकारी हुने सम्भावना अत्यन्तै न्यून छ । 

हाम्रो संघीय र प्रदेश सरकारहरूले जनताको जीवनसँग खेलवाड गरिरहेका छन् । स्वास्थ्य जस्तो आधारभूत सेवा उपलब्ध गराउन नसक्नु सरकारको ठुलो असफलता हो । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन हामी सबै मिलेर आवाज उठाउनुपर्छ । सरकारको जवाफदेहिता सुनिश्चित गराउन जनताले दबाब दिनु आवश्यक छ । 

मधेश प्रदेशको स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन नगरे ठूलो जनस्वास्थ्य संकट निम्तिन सक्छ । त्यसैले, संघीय र प्रदेश सरकारले सहकार्य गरेर यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार ल्याउन ठोस कदम चाल्नुपर्छ । 

यस समस्याको समाधानको लागि, स्थानीय तहदेखि केन्द्रसम्मका सबै सरकारी निकायहरूले समन्वय गर्नुपर्छ । नयाँ स्वास्थ्य केन्द्रहरूको स्थापना, आवश्यक उपकरणहरूको खरीद, र चिकित्सकहरूको उपलब्धता सुनिश्चित गर्न ठोस योजना आवश्यक छ । 

अन्तमा, मधेश प्रदेशका जनताको स्वास्थ्यको रक्षा गर्नु सरकारको नैतिक दायित्व हो । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सबै पक्षले साझा पहल गर्न आवश्यक छ, ताकि हाम्रो प्रदेश स्वस्थ र समृद्ध रहोस् ।

ADVADV

सम्बन्धित खबर

Advertise