रिसव गौतम
व्यावसायिक संगठनको आधारभूमि समाज नै हो । व्यवसायको अस्तित्व समाज रहे मात्र रहन्छ । समाज नरहे व्यवसाय र आर्थिक क्रियाकलाप अवश्य रहँदैन । अर्थात् व्यावसायिक संगठनहरूले आफ्ना सम्पूर्ण गतिविधि समाजमा नै गर्छन् । समाजलाई आफ्नो नाफा आर्जन गर्नेदेखि सारा उद्देश्य पूरा गर्ने आधार व्यवसायले बनाएको हुन्छ । तसर्थ समाजप्रति व्यावसायिक संगठनहरूको अधिकदायित्व हुने गर्छ ।
व्यवसायले समाजमा रहेर उपभोक्ता, सरकार, कर्मचारी र आफैंप्रतिको सामाजिक उत्तरदायित्व बहन गर्छ । नेपालमा पनि पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रम बढ्दै गएको देखिन्छ । यसरी व्यवसायले समाजमा गरेको गतिविधिको अध्ययन, अनुसन्धान र मूल्याङ्कन गर्ने कार्य सामाजिक लेखा परीक्षण हो । सामाजिक लेखा परीक्षणले व्यवसायहरूले कसरी सामाजिक दायित्व निर्वाह गर्दै आएका छन् भन्ने अनुगमन गरी विवरण तयार गर्ने कार्यसँग सम्बन्धी राख्छ । यस्तो लेखा आन्तरिक एवं बाह्य गरी दुई प्रकारका हुन्छन् । अर्थात् मूल्याङ्कनगर्ने बाह्य सामाजिक लेखा परीक्षण आवश्यक हुन्छ ।
सामाजिक लेखा परीक्षण सम्बन्धमा विद्वान् बाउर र फेनले भनेका छन्, “सामाजिक लेखा परीक्षणबाट वचनबद्ध एवं व्यवस्थित रुपमा मूल्याङ्कन गर्ने र कम्पनीको क्रियाकलापबाट भएका महत्वपूर्ण विषयहरूको प्रतिवेदन तयार गरिन्छ, जसबाट समाजमा प्रभाव पारेको हुन्छ ।”
अर्का विद्वान् केथ डाभिज र रवर्ट ब्लाभस्ट्रोमले भनेका छन्, “सामाजिक लेखा परीक्षण एक व्यवस्थित अध्ययन हो, संगठनको सामाजिक कार्य सम्पादन मूल्याङ्कन गरिन्छ जुन आर्थिक कार्य सम्पादनभन्दा भिन्न छ ।”
यसरी सामाजिक लेखा परीक्षण व्यवसायले सामाजिक दायित्व निर्वाह गर्नुे कार्यसँग सम्बन्धित छ । व्यवसायले सामाजिक पृष्ठभूमिमा आफूलाई कायम राखेर समाजका लागि के–कस्तो कार्य गर्यो भन्ने कुराको मूल्याङ्कन विवरण नै सामाजिक लेखा परीक्षण हो । यस्तो लेखा परीक्षण कार्यमानसँग तुलना गरी तथ्याङ्क संकलन गर्न, कार्य सम्पादनमा सजग रहन, लाभ–लागत विश्लेषण गर्न गर्ने गरिन्छ । आजको व्यावसायिक युगमा व्यावसायिक संस्थाहरूले सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको पाइन्छन् । नेपालको हकमा पनि त्यो खालको सुरुवात र प्रयास भएकै छन् । यद्यपि प्रभावकारी भने हुन सकेका छैनन् । त्यसका धेरै कारण छन्, अहिलेलाई त्यसतर्फ नजाऔं ।
सामाजिक लेखा परीक्षणलाई दुई भगमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ । एउटा अनिवार्य लेखा परीक्षण र अर्को ऐच्छिक लेखा परीक्षण । अनिवार्य लेखा परीक्षण सरकारद्वारा नीति–नियमका आधारमा संगठनहरूलाई अनिवार्य सामाजिक लेखा परीक्षण गर्न लगाइन्छ । प्रदूषण नियन्त्रण, समान रोजगारी र वस्तु सम्पादन आवश्यकताको मुद्दामा यस्तो लेखा परीक्षण केन्द्रित हुन्छ । ऐच्छिक सामाजिक लेखा परीक्षण भने व्यवसायले इच्छाले जनविश्वास आर्जन गर्ने गर्छ । मूलतः शिक्षा, बिक्रीपछिको सेवा, सार्वजनिक जनचेतनाजस्ता कुराहरू यसमा केन्द्रित भएको पाइन्छ । नेपालमा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रहरूलाई अनिवार्य सामाजिक उत्तरदायित्वको प्रावधान लागू गरेको छ । पछिल्लो मौद्रिक नीतिमार्फत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकहरूले खर्च गर्ने रकममध्ये केही निश्चित प्रतिशत रकम प्रदेशहरूमा पनि खर्च गर्नुपर्ने अनिवार्य प्रावधान राष्ट्र बैंकले ल्याएको छ । तर, कतिपय बैंक तथा वित्तिय संघ–सस्थाहरूले भने यसरी सामाजिक उत्तरदायित्व बहन गर्ने गरी भन्दा देखावटी हिसाबले मात्रै खर्च गरिरहेका छन् । अझ अघि बढेर भन्दा सही सबुत ठाउँ खोजेर खर्च गर्ने भन्दा बढी प्रचार गर्ने कामजसो बढी गरिरहेका छन् । बैंकहरूले कमाउने भन्दा बढी ध्येय अरू राखिरहेका छैनन् । एउटा पब्लिक कम्पनीले आफू निहित समाजको वरपर आम्दानीको केही अंश निशंकोच खर्च गर्नु उसको दायित्व नै हो । तर, नेपलमा यसरी उत्तरदायित्व बहन गर्ने कुरालाई बोझका रूपमा पनि लिइएको देखिन्छ ।
उपभोक्तावाद र सामाजिक उत्तरदायित्वको सम्बन्ध
उपभोक्तावाद वर्तमान विश्वको जल्दोबल्दो मुद्दा हो । अमेरिकी भूतपूर्व राष्ट्रपति एवं जोन एफ केनेडीले १५ मार्च १९६२ मा चारवटा उपभोक्ता अधिकार निर्णय गरेको ऐतिहासिक दिन हो । ती हुन्— ज्यान र स्वास्थ्यका लागि खतरनाक वस्तुहरूको बिक्रीबाट सुरक्षित हुने अधिकार, छनोट गर्ने अधिकार, सुसूूचित हुने अधिकार, सुनुवाइको अधिकार । यस्ता अधिकार उपभोक्ताले सुनिश्चित भएको पाउनु नै उपभोक्तावाद भन्ने गरिन्छ । व्यावसायिक गतिविधिमा देखिने नकारात्मक क्रियाकलापमा कालोबजारी, कृत्रिम अभाव सिर्जना, अनावश्यकमूल्य वृद्धि, कमतौल, मिसावट, अखाद्य वस्तुको प्रयोग, गहन सूचना–प्रवाह, सामाजिक मान्यताविरुद्ध ओर्लनु आदि उपभोक्तावाद विरुद्धका क्रियाकलापहरू हुन् । यस्तै अनैतिक व्यावसायिक क्रियाकलापहरू नेपालमा जति सायदै अन्त कुनै देशमा होलान् । तर, नेपालमा यस्ता क्रियाकलाप रोक्न जुनै पनि सरकार र मन्त्रीहरूले सकिरहेका छैनन् । त्यसको आन्तरिक कारणहरू के–के होलान्, त्यो आफ्नो ठाउँमा छ । यस्तै क्रियाकलापविरुद्ध विश्वव्यापी आन्दोलन प्रारम्भ भएको पाइन्छ । खासगरी यस्तै क्रियाकलापविरुद्ध उठ्ने आवाज नै उपभोक्तावाद हो । सामान्यतया उपभोक्तावाद र सामाजिक उत्तरदायित्वबीच गहिरो सम्बन्ध रहेको हुन्छ । सामाजिक उत्तरदायित्वअन्तर्गतका क्रियाकलाप पूरा नभएपछि उपभोक्ताबाट गुनासा र आवाजहरू उठ्न थाल्छन् । अर्थात् उपभोक्ताहरूले उठाउने हक–हितका कुराहरू नै सामाजिक उत्तरदायित्वभित्र पर्छन् ।
आजको विश्वमा उपभोक्ताले नै नयाँ–नयाँ वस्तु तथा सेवाको माग र बजार सिर्जना गर्छन् । उपभोक्ताले वस्तु आकर्षण बढाएर वस्तु खरिद गर्न सुरु गर्दा मात्र माग बढ्ने हुन्छ । यदि अत्यधिक मूल्य वृद्धि भएमा उपभोक्ताले मध्यस्थ वस्तुको खोजी गर्न सक्छन् । यसरी उपभोक्ताहरूको क्रियाकलाप आर्थिक रूपमा केन्द्रित हुन्छन् । समग्रमा भन्दा व्यवसायको सम्पूर्ण क्रियाकलाप उपभोक्तामा नै निर्भर गर्छ । त्यसर्थ संगठनले उपभोक्ताको आवश्यकता चाहना, हकहितलाई केन्द्रबिन्दु बनाएर कार्य गर्नुपर्छ । उपभोक्ताको हित संरक्षण गर्नु, गुणस्तरीय एवं कममूल्यमा वस्तु उपलब्ध गराउनु, आवश्यक सेवा प्रदान गर्नुका साथै ग्राहकका हक संरक्षण गनुव्यावसायिक संगठनको उत्तरदायित्व हो । यसबाट स्पष्ट हुन्छ कि उपभोक्तावाद र सामाजिक उत्तरदायित्वबीच गहिरो सम्बन्ध कायम भएको हुन्छ ।
तर नेपालमा अन्तरसम्बन्धित यी दुवै विषय प्रभावकारी रूपमा अगाडि बढाउन सकिएको छैन । न त उपभोक्तावाद लागू भएको छ, न त व्यावसायिक संघ–संगठनहरूले सामाजिक उत्तरदायित्व नै वहन गरेका छन् । यदि गरेका छन् भने पनि धेरैजसो त्यसलाई प्रचार र प्रपोगाण्डाको विषय बनाएका छन् । ग्राहक तथा उपभोक्ताहरूले आफ्नो हकहितका कुराहरूमा निसंकोच आवाज उठाउन नसक्नु, कसैले उठाइ हाले पनि त्यसलाई सर्मथन नगरिनु र जसले जे गरे पनि सहेरै मात्र बस्ने परिपाटीको विकास हुँदै गएकाले पनि व्यावसायिक अनियमितता एवं ठगी बढिरहेको छ । त्यसकारण उपभोक्ता हित, जागरण र सामाजिक उत्तरदायित्वको विषयमा राज्य, सरोकारवाला निकाय र आम सर्वसाधारणको नै ध्यानाकर्षण हुन जरुरी देखिन्छ । एउटा सचेत नागरिकले आफूले प्रयोग गर्ने वस्तु, सेवाको गुणस्तर प्रभावकारी भए नभएको थाहा पाउनु र स्वास्थ्यका दृष्टिले पनि त्यसलाई केलाएर हेर्नु, ऐन कानुनअनुसार उपभोक्ता हकहितबारे आवाज उठाउन सक्नु आजको आवश्यकता हो । अनि मात्र उपभोक्ता र समाजको हित हुन सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies