पछिल्लो समयका चर्चित संगीतकार हुन्, शंकर थापा ‘स्माइल’ । एकपछि अर्को उत्कृष्ट संगीत दिएका शंकर रेडियो नेपालको वर्गीकरण अनुसार ए ग्रेडका संगीतकार हुन् । राष्ट्रिय स्तरका विभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित शंकर शास्त्रीय संगीतका विद्यार्थी पनि हुन् । सयौं गीतसंगीतका सर्जक शंकरको एकल संगीतमा ६ वटा म्युजिकल एल्बम पनि बजारमा आइसकेका छन् । उनी यतिबेला ७ औं एल्बमको तयारीमा छन् । गीतसंगीतका बादशाह मानिने शंकरले मध्यान्न दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
सांगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
म शास्त्रीय संगीतको विद्यार्थी हुँ । २०६० देखि २०६५ सालसम्म शास्त्रीय संगीतको औपचारिक अध्ययन गरें । सानैदेखि संगीतप्रतिको लगावका कारण मैले संगीतको औपचारिक अध्ययन गरेको हुँ । संगीत नै अध्ययन गरेका कारण स्वभाविकरुपमा मेरो रोजाई सांगीतिक क्षेत्र नै हुने भयो ।
आजको दिनमा तपाईं निकै सफल संगीतकारका रुपमा चिनिनुहुन्छ । उच्च पारिश्रमिक लिएर मात्र काम गर्नुहुन्छ । तपाईंका कयौं गीतहरुले डिजिटल प्लेटफर्ममा करोडौं भ्युज पनि पाएका छन् । यो सफलताको पछाडि संघर्ष कस्तो छ ?
संघर्ष त हरेक काममा हुन्छ होइन र । संघर्षले नै त हो हरेक साधकलाई निखार्ने अनि उसका सिर्जनालाई सिँगार्ने । मैले पनि यस क्षेत्रमा निकै संघर्ष गरेको छु । तर, ति हरेक संघर्षलाई शिक्षाका रुपमा लिँदै आफुलाई थप सशक्त बनाउँदै अघि बढें । मैले संगीतलाई नै जीवन ठानेको छु । यसैले हरेक संघर्षलाई जीवनमा आउने आरोह अवरोहकै रुपमा लिएँ । आज फर्केर हेर्दा यस्तो लाग्छ कि मैले कहिल्यै हरेश खाइनँ, समस्यादेखि भागिनँ, हरेक चुनौतीको सामना गर्दै अघि बढें । सायद हिजोको संघर्षले निखारिएर होला मेरो सिर्जनालाई तपाईंले भनेको जस्तै दर्शकहरुले मन पराउनु भएको, माया दिनु भएको । जहाँसम्म पारिश्रमिकको कुरा छ मैले मेरो कर्म अनुसारकै पारिश्रमिक लिने हो ।
पछिल्लो समय लगाताररुपमा तपाईंका गीतहरु सार्वजनिक भइरहेका छन् । ति गीतहरु सफल पनि छन् । तर म्युजिक एल्बम त ग्याब भयो नि ?
पछिल्लो समय म्युजिक एल्बम सार्वजनिक गर्ने चलन लगभग हराएको जस्तै छ । अचेल सिंगल ट्रयाक नै सार्वजनिक गर्ने प्रचलन बढ्दो छ । जसका कारण मेरा धेरै सिर्जनाहरु सिंगल ट्रयाककै रुपमा सार्वजनिक भइरहेका छन् । यद्यपि एल्बमको तयारी नगरेको होइन । यतिबेला म नेपाल आइडल सिजन ३ की विजेता गायिका सज्जा चौलागाईंसँगको सहकार्यमा एल्बम ‘भिक्टोरी’ सार्वजनिक गर्ने अन्तिम तयारीमा छु । मेरो एकल संगीत र सज्जाको एकल स्वर रहने एल्बम आगामी महिना साइराम पिक्चर्स प्रा.लि.ले बजारमा ल्याउने छ । यसका साथै म अर्को एल्बमको पनि तयारीमा छु । केही महिनामा नै म अर्को एल्बम पनि सार्वजनिक गर्दैछु ।
अचेल गीत संगीतमा अडियो मात्र नभएर भिडियो पनि अनिवार्य जस्तै बनेको छ । यो ट्रेन्डलाई कसरी लिनुभएको छ ?
शुरुमा नेपालमा श्रव्यका माध्यमहरु मात्र थिए । रेडियो नेपालको स्थापनासँगै गीत रेकर्ड गर्ने प्रचलन नेपालमा मौलायो । केही वर्ष अघिसम्म संगीत उत्पादक कम्पनीहरुले पनि अडियो क्यासेट र सिडीहरु नै बजारमा बिक्री गर्ने गर्थे । जब नेपालमा दृष्यका माध्यमहरु पनि थपिए तब भिडियोको आवश्यकता हुँदै गयो । जसका कारण शुरुका केही वर्ष टेलिभिजनहरु आफैंले गीतको भिडियो बनाउने गर्थें । तर, सर्जकहरुलाई आफैंले थप उत्कृष्ट भिडियो निर्माण गर्न सकिन्छ भन्ने लागेपछि विभिन्न कम्पनीमार्फत म्युजिक भिडियो बन्न थाले । पछिल्लो समय त डिजिटल प्रविधिको विकाससँगै श्रव्य र दृष्यका माध्यमहरु निकै फष्टाए । अनि हामीलाई पनि आफ्ना स्रोतालाई थप मनोरञ्जन दिनुपर्छ भन्ने लाग्यो, त्यसैले अचेल म्युजिक भिडियोको ट्रेन्ड छ । म यो सबै प्रक्रियालाई समयको मागका रुपमा लिन्छु ।
तपाईं सांगीत क्षेत्रमा सफल भइसकेपछि अझ भनौं राष्ट्रियस्तरका विभिन्न अवार्डमा उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेपछि मात्र रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगितमा सहभागी भई प्रथम हुनुभयो । उक्त प्रतियोगितामा भाग लिने सोच कसरी आयो ?
हो, तपाईंले भने जस्तै मेरा गीतसंगीत सफल भइसकेपछि मात्र मैले राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगितमा सहभागिता जनाएको हुँ । तपाईं हामी सबैलाई थाहा छ रेडियो नेपाल सरकारी प्रशारणको एक मात्र रेडियो हो । नेपाली गीतसंगीतको विकासका लागि रेडियो नेपालको योगदान अहम् छ । शुरुका थुप्रै वर्ष रेडियो नेपालमा मात्र गीत रेकर्ड गर्ने सुविधा थियो । रेडियो नेपालले नै गीतसंगीतको प्रवद्र्धन गथ्र्यो । रेडियो नेपाल, नेपाल सरकारअन्र्तगत सञ्चालित भएकोले पनि यसले आयोजना गर्ने प्रतियोगितालाई सांगीतिक क्षेत्रकै सबैभन्दा ठुलो प्रतियोगिता मान्ने गरिन्छ । यो प्रतियोगिता जित्नुलाई संगीतकर्मीहरु ठुलो उपलब्धी मान्ने गर्छन् । स्रोता दर्शकको मायाले गीतसंगीतमा सफल भइरहँदा अनि विभिन्न राष्ट्रियस्तरका अवार्ड पाइरहँदा मलाई पनि यो प्रतियोगितामा सहभागिता जनाउनुपर्छ भन्ने भयो । कर्मको फल म प्रतियोगितामा उत्कृष्ट संगीतकार हुन सफल भएँ ।
अब केही समग्र संगीत क्षेत्रको कुरा गरौं । तपाईंले संगीत क्षेत्रको वर्तमान अवस्थालाई कसरी लिनुभएको छ ?
पछिल्लो समय सांगीतिक क्षेत्र थप फराकिलो हुँदै गएको छ । म्युजिकल प्लेटफर्महरु पनि बढ्दै गइरहेका छन् । रोयल्टी व्यवस्थापन पनि हुँदै छ । डिजिटल प्लेटफर्महरुबाट पनि राम्रो आम्दानी हुन थालेको छ । जसका कारण स्रष्टालाई गीतसंगीतमै आश्रित भएर स्ट्यान्डर्ड लाइफ जीउने वातावरण तयार भइरहेको छ । समयको माग अनुसार उत्कृष्ट सिर्जना पस्कन सक्नेहरुका लागि यो क्षेत्रमा निकै सुखद भविष्य देख्छु म ।
रोयल्टी व्यवस्थापनको कुरा गर्नुभयो, रोयल्टी वितरणको शैलीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
रोयल्टी व्यवस्थापनको मापदण्ड पारदर्शी नहुँदा म मात्र होइन धेरै स्रष्टाहरु सन्तुष्ट हुनुहुन्न । कसको गीतसंगीत कतिपटक कहाँ बज्यो त्यसको पारदर्शी रेकर्ड राखेर सोही अनुरुप रोयल्टी व्यवस्थापन हुनुपर्ने हो । रोयल्टी तिर्नेले पनि आफुले प्रयोग गरेको गीतसंगीतको मात्र रोयल्टी तिर्ने हो, अनि पाउनेले पनि आफ्ना गीतसंगीतको सार्वजनिक प्रयोगका आधारमा रोयल्टी पाउने हो । तर, यहाँ त्यस्तो कुनै मापदण्ड बनाइएको छैन । यहाँ कसका गीतसंगीत कतिपटक प्रयोग भए भन्ने डाटामा आधारित भएर रोयल्टी वितरण गरिएको छैन । जुन कुरामा मेरो असन्तुष्टि हो ।
तपाईंका कयौं गीतसंगीत हिट छन् । रेडियो टेलिभिजनमा मात्र होइन मेलामहोत्सव र पार्टीहरुमा पनि तपाईंका गीतहरु घन्किएका हुन्छन् । कतै तपाईंको आश गीतसंगीतको सार्वजनिक प्रयोगका आधारमा रोयल्टी वितरण गरे आफुले बढी पाउँथे भन्ने पो हो कि ?
रोयल्टी वितरणको अन्तर्राष्ट्रिय मापदण्ड नै त्यही होइन र । तपाईंले भनेको जस्तै मेरा गीतसंगीतलाई स्रोताहरुले अत्यन्त मन पराइरहनुभएको छ । यसको अर्थ मेरो गीतसंगीत सार्वजनिकरुपमा निकै प्रयोग पनि भइरहेका छन् । यदि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रोयल्टी वितरण गर्ने हो भने त अवश्य पनि मैले अहिले बुझेको भन्दा निकै गुणा बढी रोयल्टी पाउँछु ।
अन्त्यमा, तपाईंको विचारमा मानव जीवनमा संगीतको महत्व ?
संगीत सबैको जीवनमा महत्वपूर्ण छ । जीवनलाई खुशी राख्न र हाम्रो मस्तिष्कलाई राहत प्रदान गर्न संगीत आवश्यक छ । यो मनोरञ्जनको एउटा ठुलो स्रोत पनि हो । पुराना यादहरुलाई पनि ताजा गर्न, अशान्त मनलाई शान्त तुल्याउन, सकारात्मक सोच, आत्मियताका साथै सम्बन्ध जोड्न पनि यसको ठूलो महत्व छ । संगीत कयौं चिकित्सा उपचारको पनि हिस्सा हुने गरेको पाइन्छ । साथै एउटा असल मित्र पनि हो । यसर्थ मानव जीवनमा यसको महत्वपूर्ण भूमिका छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies