
काठमाडौं : पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयलअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा बिहीबारसम्म ६५ हजार ८ सय ८६ जनाले आफ्नो विवरण दर्ता गरेका छन् ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्किएको छ । खाडी मुलुकहरूबाट नेपाली नागरिकको उद्धार तथा आवश्यक सहायतालगायतको प्रयोजनका लागि विभागले गत फागुन १८ गतेदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।
उक्त पोर्टलमा खाडी क्षेत्रमा रहेका नेपाली दूतावासमार्फत नेपाली नागरिकको विवरण संकलन गर्ने कार्य भइरहेको विभागकी महानिर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् । पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि मन्त्रालय र त्यहाँस्थित नेपाली नियोग निरन्तर सक्रिय रहेको परराष्ट्र मन्त्रालयलका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताएका छन् ।
परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बुधबार सम्पन्न दोस्रो बैठकको निर्णयअनुसार समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य उपयुक्त माध्यमबाट सम्पर्क गर्न, मनोबल बढाउन र उनीहरूको प्रतिक्रिया लिएर प्रतिवेदन बुझाउन पश्चिम एसियास्थित सबै नियोगलाई निर्देशन दिइएको छ । पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन, कानुनविपरीत कुनै किसिमका फोटो, भिडियो तथा अडियो सामग्री रेकर्ड गर्ने र आदानप्रदान गर्ने कार्य नगर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
यसैबीच परराष्ट्रसचिव राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो बैठकमा पश्चिम एसियाली मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणका खातिर सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपालीको सुरक्षा सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने, हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने, नेपालका नियोगसँग सम्पर्कमा आएकाहरूलाई सहयोग गर्नेलगायतका निर्णय भएको छ ।
अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रूपमा हवाई हमला गरेपछि पश्चिम एसियाली मुलुकमा तनाव बढेको छ । रोजगारीका सिलसिलामा ती मुलुकमा १९ लाख बढी नेपाली रहेका छन् ।