
कुवेत : कुवेतको हवाई क्षेत्र बन्द भएका कारण कुवेतमा ट्रान्जिट हुँदै विभिन्न मुलुकमा जान लागेका ६९ जना नेपाली यात्रुलाई कुवेतस्थित नेपाली दूतावासले साउदी अरेबिया पठाएको छ ।
कुवेत ट्रान्जिटमा समस्यामा परेकाहरूलाई स्थल मार्गबाट साउदी अरेबिया पठाएपछि कुवेतस्थित नेपाली दूतावासले रियादस्थित नेपाली दूतावाससँगको समन्वयमा सडकमार्गमार्फत आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न सहजीकरण गरेको बताएको छ ।
हाल मध्यपूर्व क्षेत्रमा देखिएको तनाव र उडान व्यवस्थामा आएको अवरोधका कारण कतिपय यात्रुहरू विभिन्न विमानस्थलमा ट्रान्जिटका रूपमा रोकिएका छन् ।
दूतावासले ट्रान्जिट वा यात्राका क्रममा समस्या परेमा तत्काल नेपाली दूतावास वा नेपाली नियोगसँग सम्पर्क गर्न नेपाली नागरिकलाई अनुरोध गर्दै यात्रा गर्दा आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।