बझाङ : बझाङको थलारा क्षेत्रका किसानहरू पछिल्लो समय जंगली जनावरको आतंकबाट आजित भएका छन् । विशेषगरी थलारा गाउँपालिका ७ अदुकालीमा जंगली बँदेलहरूले राति गहुँबालीमा पसेर खेती नष्ट गर्ने गरेको छ ।
किसानहरूका अनुसार विगत केही दिनदेखि लगातार खप्तड राष्ट्रिय निकुञ्जबाट रातिको समयमा आएको बँदेलको समूहले गहुँबाली खानुका साथै कुल्चिएर नष्ट गरेका छन् । यसले अदुकालीका ७० भन्दा बढी किसानका बालीमा क्षति पुगेको छ ।
थलारा गाउँपालिका ७ अदुकालीका किसान दिपकबहादुर चलाउनेले भने,‘गहुँको बाली राम्रो फलेको थियो, तर जंगली बँदेलका कारण झन्डै आधा खेती नष्ट भइसकेको छ । यो समस्या समाधानका लागि ठोस कदम चाल्न सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’
जंगली जनावरबाट हुने क्षति रोक्न स्थानीय तह र राष्ट्रिय निकुञ्जले जनावरलाई नियन्त्रण गर्न र किसानलाई मुआब्जा उपलब्ध गराउन योजना बनाउन आवश्यक रहेको चलाउनेले बताए ।
साथै, राष्ट्रिय निकुञ्जले वन्यजन्तुको संरक्षण र किसानहरूको सुरक्षाबीच सन्तुलन कायम गर्ने उपायहरु अपनाउनुपर्ने स्थानीयहरुको माग छ ।