काठमाडौं : नेपाली चलचित्रमा हाल मौलिकता खोजिँदै छ । ‘हिरो, हिरोनी, गुन्डा’ जस्ता शब्दभन्दा अहिले पात्रहरूतिर ध्यानाकर्षण भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मौलिक चलचित्रको माग बढ्दै गएर हुन सक्छ हाल यस्ता चलचित्रको निर्माण क्रमशः बढ्दो छ ।
गत महिना ऋषिराज आचार्यद्वारा लेखन, निर्माण तथा निर्देशन गरिएको चलचित्र ‘द्रौपदी’ पनि मौलिक कथामा निर्माण भएको चलचित्र हो । कर्णाली प्रदेशको डोल्पा जिल्लामा छायांकन गरी हाल सम्पादनमा रहेको चलचित्र द्रौपदीमा २ नायिकाले डेब्यु गरेका छन्– सुजाता तिमल्सिना र आश्विनी शाही ।
सुजाता बेब सिरिज, विभिन्न विज्ञापन, म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् ।
वेब सिरिज तथा विज्ञापनमा दर्शकले गरेको माया देखेर आफूलाई चलचित्र क्षेत्रमा आउन थप प्रेरणा मिलेको उनी बताउँछिन् । वेब सिरिज, म्युजिक भिडियो तथा विज्ञापनमा भन्दा ठूलो पर्दाको चलचित्रमा दर्शनको अझ माया पाउने उनको विश्वास छ ।
‘सुरुमा आफ्नो यो क्षेत्रमा कोही नभएकाले घरमा कन्भिन्स गर्न निकै गाह्रो भयो तर आफू यो क्षेत्रकै लागि जन्मेको महसुस हुने हुनाले म परिवारलाई बुझाउन लागिरहें’, सुजाता भन्छिन्, ‘अन्ततः मेरो कलाकार बन्ने सपना पूरा भयो । परिवारले मलाई यो क्षेत्रमा लाग्ने अनुमति दियो । मेरो सपनाको ढोका खोल्यो आर. बी. मुभिजले ।’
आर. बी. मुभिजमा अभिनयको कक्षा लिएपछि सुहाउँदो भूमिकामा अभिनय गर्ने अवसर पाइने सुजाताको अनुभव छ । निर्देशक ऋषिराज आचार्यबाट अभिनयको कक्षा लिएकी सुजाता जस्तोसुकै भूमिकाका लागि आफू तयार रहेको बताउँछिन् । तर, आफ्नो भूमिकाले समाजलाई सकारात्मक प्रभाव पार्नुपर्ने उनको भनाइ छ ।
म्युजिक भिडियोमा चलचित्र ‘चुरिफुरी’ हुँदै ‘द्रौपदी’सम्म सहायक निर्देशकको समेत भूमिका निभाउँदै आएकी सुजाता बुबा रेवती तिमल्सिना तथा माता अनुका तिमल्सिनाकी छोरी हुन् । उनी काभ्रेमा जन्मिएकी हुन् ।
सानैदेखि कलाकार बन्ने सपना बोकेकी सुजाता आफूलाई नेपाली समाज र संस्कृति सुहाउँदो चलचित्रमा काम गर्ने चाहना रहेको बताउँछिन् । हाल स्नातक चौथो वर्षमा अध्ययनरत सुजाता कलाकारितासँगै अध्ययनलाई पनि निरन्तरता दिन चाहन्छिन् ।
‘द्रौपदी’बाट सुरु भएको ठूलो पर्दाको यात्रालाई आफूले अब जीवनभर निरन्तरता दिने सोचमा छन् उनी । कलाकारिताका साथै भविष्यमा चलचित्र निर्माण तथा निर्देशन गर्ने उनको सोच छ । त्यसैले अहिलेदेखि नै अभिनयसँगै सहनिर्देशनमा हात हालेको उनको भनाइ छ ।