काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।
लोसपाले संवाद, सहकार्य, कार्यगत एकता र पार्टी एकिकरणका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जारी गरेको प्रेस विज्ञप्तिमा लोसपाका मधेस प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका सोनलसहित वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेको समिति गठन गरेको उल्लेख छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संसथागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भएको भन्दै लोसपाले मधेस केन्द्रित राजनीतिक दलहरूसँग कार्यगत एकतादेखि विचार मिल्ने पार्टी एकीकरणसम्मको सम्भावनाको खोजी तथा परिणाममुखी बनाउनका लागि समिति गठन गरिएको जनाएको छ ।
यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कार्यकारिणी बैठकबाट मधेशका दलहरूबीच सहकार्य र एकता गर्न राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो । त्यस्तै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य प्रयास चलिरहेको छ ।
यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि एकता अपील गर्दै मधेशी शक्तिहरूबीच संवाद थालेका छन् ।