भक्तपुर : प्राङ्देन हानी लिम्बू पहिरन शिल्पी अर्थात फेसन डिजाइनरहरुको मेघा प्रतियोगिता पाँचौं संस्करणको ‘द नेशनल डिजाइनर रनवे, २०२४’को विजेता बनेका छन् । असाधारण रचनात्मकता र शिल्प प्रस्तुतीकरणका साथ दर्शक र निर्णायकहरूलाई मोहित पार्दै उनले शीर्ष उपाधि हात पार्दा सबी श्रेष्ठले आकर्षक डे«स डिजाइनको साथमा फस्र्ट रनरअपको उपाधि हासिल गरिन् ।
ओमान कोमेन जुकान्द्री उस्तै लोभ लाग्दो डिजाइन प्रस्तुति पस्कँदै सेकेन्ड रनरअपको उपाधि जित्न सफल भइन् । प्रतियोगितामा अन्य सबै प्रतियोगीहरुलाई उछिन्दै सजिना मोनिकरले मष्ट पपुलरतर्फको अवार्ड हात पारिन् । विजेताहरूलाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले विजेताको ताजका साथै आकर्षक उपहारहरू प्रदान गरेका थिए ।
प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतिमा सम्पन्न भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सीईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा सम्पन्न ग्राण्ड फिनालेमा आईआईएफटी, एनसीएफटी र आईईसीलाई प्रतिनिधित्व गर्दै कूल १४ जना फेसन डिजाइनरहरु अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ उनीहरुलाई साथ दिँदै रचनात्मक पहिरन शिल्पमा सजिँदै ३८ मोडलहरूले र्याम्पमा उत्रिएर ग्ल्यामर र असाधारण प्रतिभा प्रदर्शन गरेका थिए ।
यस प्रतियोगीतामा फेसन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसन विज्ञसमेत रहेकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायकको भूमिकामा थिए ।
फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न यस कार्यक्रममा परमानन्द चौधरी इभेन्ट व्यवस्थापक र शैलेश नेपाली इभेन्ट संयोजक, सञ्जिव कसजु बजार व्यवस्थापक रहेका थिए । इम्पेरियल हल, सल्लाघारी भक्तपुरमा शनिबार सम्पन्न यस कार्यक्रम फेसन डिजाइनरहरूका लागि उनीहरूको सीप र रचनात्मकता प्रदर्शन गर्ने उत्कृष्ट डबली बन्दै आएको र यस संस्करण नेपालको फेसन परिदृश्यमा नवीनता र रचनात्मकताको उदाहरण पेश गर्न सफल रहेको आयोजकको दाबी छ ।