काठमाडौं : अमेरिकाको सर्वोत्कृष्ट डान्स प्लेटफर्म ‘वर्ल्ड अफ डान्स यूएसए’को आयोजनामा भाग लिन नेपालमा छनोट प्रतियोगिताको आयोजना हुन लागेको छ । मण्डला इन्टरटेनमेन्टले नेपालमा लुकेर रहेका प्रतिभा ‘हिडन ट्यालेन्ट’हरूलाई देशबाट निकालेर अमेरिकामा प्रतिस्पर्धा गर्न यो आयोजना गर्न लागेको जनाएको हो ।
अमेरिकाको सर्वोत्कृष्ट डान्स प्लेटफर्म वर्ल्ड अफ डान्समा विश्वभरका २५ देशका करिब १ लाख नृत्य प्रतिभा सहभागी हुने गरेका छन् । देशभित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्ने ध्येयले नेपालमा सो प्रतियोगिता गर्न लागिएको आयोजक मण्डला इन्टरटेनमेन्टले जनाएको छ ।
यसका लागि देशभरबाट ३०० बढी आवेदन परेको छ । उनीहरूले डिजिटल अडिसनमार्फत आवेदन दिएका हुन् । त्यसमध्येबाट ५० प्रतियोगी छनोट गर्न लागिएको मण्डला इन्टरटेन्मेन्ट्स प्रा. लि.की सीईओ सजिना तामाङले जानकारी दिइन् ।
यसको छनोट आयोजना आउँदो २४ माघ बिहीबार अलोफ्ट होटल ठमेल काठमाडौंमा हुने आयोजकले जनाएको छ । यस नेपाल क्वालिफायर्स वर्ल्ड वा डान्स नेपालमा अपर टिम डिभिजन, सिजियर टिम डिभिजन र जुनियर टिम डिभिजन गरी डान्स ट्यालेन्टहरूको खोजी गरिने जनाइएको छ ।
अपर डिभिजिनमा सोलो, डुओ, ट्रायो र क्वाडमा प्रतिस्पर्धा गर्न पाउने छन् । यसैगरी जुनियर टिमले ३ विधामा सहभागगिता जनाउन सक्ने जनाइएको छ । विजेताहरूले नगद १ लाख रुपैयाँ र प्रमाणपत्र पाउने छन् ।
प्रथम, दोस्रो र तेस्रो हुनेले अमेरिकाको लस एन्जेल्स कन्भेन्सन सेन्टरमा आयोजना हुने वर्ल्ड अफ डान्स, यूएसका लागि सहभागी हुन पाउने छन् । सो प्रतियोगिता १६ देखि २५ जुलाईसम्म हुने वर्ल्ड अफ डान्स नेपालका नेसनल डाइरेक्टर रोशन गहतराजले जानकारी दिए ।