काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको दोस्रो दिनको छलफल सुरु भएको छ । आइतबारदेखि काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारको सभाहलमा बैठक अहिले जारी छ।
बैठकको प्रारम्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ ।
प्रचण्डको प्रस्तावमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको समय तोकिएको छ ।
हिजोको बैठकमा प्रचण्डले राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उनले पार्टीप्रति देशभर सकारात्मक वातावरण सृजना भएको दाबी गर्दै जनतातिर फर्किएर अभियान चलाउने प्रस्ताव राखेका छन् ।
प्रचण्डले कांग्रेस र एमालेसँग चुनावी गठबन्धन नगर्ने तर माधव नेपालदेखि प्रभु साहसँग एकताको प्रयास गर्ने प्रस्ताव राखेका छन् ।