काठमाडौं : एमाले गोदावरी नगर कमिटी अत्तरिया, कैलालीका ४६ जनाले दिए सामूहिक राजीनामा दिएका छन् । ११ पुसदेखि लागू हुने गरी ४६ जना नेता तथा कार्यकर्ताहरूले राजीनामा दिएका हुन् ।
गोदावारी नगरकमिटीका सदस्य कल्पनाकुमारी विकसहित ४६ सदस्यहरूले संयुक्त राजीनामा दिएका छन् । एमालेमा बस्दा पटक–पटक अपमानित र अपहेलित हुनुपरेको भन्दै उनीहरूले संयुक्त राजीनामा दिएको बताएका छन् ।
माओवादी पृष्ठभूमिका उनीहरू एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनपछि एमालेमै बसेकेका थिए ।
तत्कालीन माओवादीले गरेको जनयुद्धलाई इन्कार गर्न नसकिने र अहिलेको गणतन्त्र, संघीयता, समावेशिता सबै जनयुद्ध कै जगमा आएको निष्कर्षसहित उनीहरू एमालेबाट बाहिरिएका हुन् ।
एमाले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि यहाँभित्र बसिरहन आवश्यक नठानेको उनीहरूले राजीनामा दिँदै उल्लेख गरेका छन् ।
१० पुसमा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । सो पश्चात् ४६ जना नेता तथा कार्यकर्ताहरूले ११ पुसमा सामूहिक राजीनामा दिनुले रावल समर्थक रहेको बुझ्न सकिन्छ ।