२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

भूकम्पले नहल्लाएको नेतृत्व

ADV
२०८१ पुष २४ गते ०६:४५
भूकम्पले नहल्लाएको नेतृत्व

चीनको स्वशासित क्षेत्र तिब्बतमा (२३ पुस बिहान) गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुस भएको छ । राजधानी काठमाडौंसहित नेपालका उत्तरी क्षेत्र र भारतका कतिपय भू–भागमा पनि भूकम्पको धक्का महसुस भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् । ती संचार माध्यमहरूका अनुसार नेपालको उत्तरी सीमाबाट झण्डै सय किलोमिटर उत्तरमा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । यो भूकम्पमा परी तिब्बतको विकट क्षेत्रका १२६ जनाको मृत्यु र १८८ जना घाइते (मंगलबार रातिसम्म) भएका छन् । हजारभन्दा बढी घर भत्किएका छन् भने उद्धार कार्य जारी रहेकाले मृतक संख्या बढ्ने अनुमान गरिएको छ । तर, शक्तिशाली भूकम्पबाट नेपालमा देखिनेगरी ठूलो क्षति नभएको सरकारी अधिकारीहरूले जनाएका छन् । 

मानवीय अथवा भौतिक क्षति नभएकाले भूकम्पबारे चासो पनि धेरै देखिँदैन । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरूले साँझ मात्र प्रेस नोट जारी गर्नुले भूकम्पबारे धेरै चासो नेपालमा नरहेकै बुझ्न सकिन्छ । तर, मंगलबार बिहान धक्का महसुस भइरहँदा राजधानी काठमाडौंको दृश्य हेर्दा पनि भूकम्पको त्रास आमनागरिकमा असाध्यै ठूलो छ । चिसो बिहानमा धेरै मानिस ओछ्यानमा हुँदै भूकम्प आएको थियो । भूकम्पको धक्कापछि घरबाहिर निस्कनेको भीड र हो–हल्ला सम्झने हो भने भूकम्पको त्रास कुन तहमा छ भन्ने अनुमान लगाउन सकिन्छ । 

हुन पनि विनाशकारी गोर्खा भूकम्पको १० वर्ष पनि भएको छैन । १२ वैशाख २०७२ मा गएको भूकम्पबाट नेपालमा झण्डै ९ हजारको ज्यान गएको थियो भने २० हजारभन्दा बढी घाइते भएका थिए । हजारौं भौतिक संरचना भत्किएका थिए । त्यो भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नसकिँदै गत वर्ष जाजरकोटमा भूकम्प गयो । त्यो भूकम्पमा परेर १५३ जनाको मृत्यु भएको थियो । ती भूकम्पपीडितको पुनस्र्थापना अझै भइसकेको छैन । त्यसैले क्षति नै नभए पनि तिब्बत भूकम्पको भय आमनागरिकमा देखियो । तर, देशको नेतृत्व गर्नेमा आवश्यक सतर्कता र सचेतता देखिएन । यो निकै चिन्ताजनक विषय हो किनकि हाम्रो जस्तो भूकम्पीय उच्च जोखिममा रहेको देशका नेतृत्वले हरदम जोखिम प्रतिरोध पूर्वकार्यबारे सोच्नुपर्छ । नागरिकलाई हमेसा विश्वास दिलाउने र भूकम्पप्रतिरोधी संरचना निर्माणमा प्रेरित गर्नुपर्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise