२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

ठगीको भयावह रूप

ADV
मध्यान्ह
२०८१ पुष २५ गते ०७:२६
ठगीको भयावह रूप

नेपाल जस्ता विकासशील देशहरूको विडम्बना छ– रोजगारीको समस्या । सामान्य जीविकोपार्जनका लागिसमेत धेरै नेपालीले उद्यम गर्ने अवस्था छैन भने राज्यले दिने 'जागिर'को कल्पना कल्पनाबाहिरको कुरा बन्दै गएको छ । राजनीतिक अस्थिरता र अविकासको मारमा परेका नेपाली हजारौं रुपैयाँ ऋण जन्मिँदै थाप्लोमा बोकेर जन्मिन थालेका छन् । राष्ट्रलाई परेको ऋण नागरिकले बेहोर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर आफ्नो र परिवारको भरण पोषण, शिक्षादीक्षा र स्वास्थ्य उपचारका आधारभूत कार्यका लागिसमेत अर्थोपार्जन अत्यावश्यक छ । यस्तो बेला वैदेशिक रोजगारी उपयुक्त विकल्प बन्नु अन्यथा होइन । निकै अघिदेखि नेपालीहरू छिमेकी भारतलगायत देशमा रोजगारीका लागि जाने गरेका हुन् । पछिल्लो समय संचार र यातायातको विकाससँगै विश्वका अतिसम्पन्न र विकसित भनिएका देशहरूसम्म नेपाली रोजगारीका लागि जान थाले । यसलाई अन्यथा मान्नुपर्ने होइन ।

तर, हामीले हाम्रो राज्यको कमजोरीका कारण अथवा हाम्रा राज्य संचालक, राजनीतिक नेतृत्वका कारण स्वदेशमै त्यो विदेश जाने जनशक्ति वा श्रमशक्तिलाई रोक्न नसकेका त होइन ? जसका कारण देश विकासका लागि भएको जनशक्ति कम मूल्यमा बढी श्रम गर्न विदेशिन बाध्य छ भने वैदेशिक रोजगारीकै नाममा लाखौं रुपैयाँ ठगीमा समेत पर्दै आएको छ । भर्खरै वैदेशिक रोजगारीमा युरापेली मुलुक पोल्यान्ड पठाउने भन्दै ८० लाख रुपैयाँभन्दा बढी ठगी भएको खबर छ । प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिकाका कृष्ण यदुवंशी र गोरखाको सुलिकोटका ३७ वर्षीय राजेश बरामलाई उक्त ठगीको उजुरीका आधारमा पक्राउ गरेको छ । युरोप, अमेरिकालगायतका सम्पन्न मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने नाममा नेपालीलाई नेपालीले नै ठगी गर्ने प्रवृत्ति बढेको देखिन्छ ।

चालू आर्थिक वर्षको ५ महिनामा मात्र करिब ४ हजार १०० वटा वैदेशिक रोजगारीका ठगीका उजुरी दर्ता भएका छन् । ठगीको यो रूप सामान्य होइन । म्यानपावरबाट भन्दा व्यक्तिगत रूपमा हुने यस्तो ठगीको न आधार, न त प्रमाणको अवस्था हुने हुँदा पीडितहरूले न्याय पाउने अवस्था पनि कमजोर हुन सक्छ । यस्ता ठगीबाट जोगिन पहिलो कुरा त व्यक्ति स्वयं सजग र सचेत हुनु आवश्यक छ । विदेश पठाइदिन्छु भन्दैमा उक्त व्यक्तिको यथार्थ नबुझी लहैलहैमा पछि लागेर मोटो रकम बुझाउनु आफैंमा कमजोरी हो । सँगसँगै राज्य तहबाट पर्याप्त सचेतता जगाउने कार्य गर्न तथा यस्ता ठगीमा संलग्नहरूमाथि कडा कारबाहीका प्रावधानसहित नियन्त्रण गर्न पनि जरुरी छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise