कालीकोट : कालीकोटको पचालझरना गाउँपालिका–१, सिकुका तीन जना टुहुरा बालबालिकाको अवस्था झनै दयनीय बन्दै गएको छ । ६ वर्षअघि आमाले आत्महत्या गरेपछि उनीहरूले बुवाको सहारामा कठिन जीवन बिताउँदै आएका थिए । तर गत पुस २१ गते बुबाको हृदयाघातबाट मृत्यु भएपछि उनीहरू पूर्ण रूपमा असहाय भएका छन् ।
दिदीभाइको बिचल्ली
मृतक टक्के सार्कीका १४ वर्षीया छोरी पाण्डवा सार्की, १३ वर्षीय भूपेन्द्र सार्की र १२ वर्षीय पारस सार्की अहिले आफन्तको सहारामा छिमेकीको गोठको माथिल्लो तलामा बस्न बाध्य छन् । स्थानीय गंगे सार्कीका अनुसार बुबाको मृत्यु भएको घरमा बस्न नसकेकाले छिमेकीको सहयोगमा अस्थायी बसोबासको व्यवस्था गरिएको हो ।
पाण्डवा कक्षा ७, भूपेन्द्र कक्षा ६ र पारस कक्षा ३ मा अध्ययनरत छन् । घरमा अन्नपात र लत्ताकपडाको अभावले चिसो हिउँद कटाउन उनीहरूलाई कठिन भइरहेको छ भने अध्ययनका लागि शैक्षिक सामग्री नहुँदा पढाइमा नै असर परेको छ । विद्यालयका प्रधानाध्यापक शंकर न्यौपानेले उनीहरूलाई आवश्यक कापी, कलम, र पोशाक उपलब्ध गराउने बताएका छन् ।
२०७५ सालमा आमाको मृत्युपछि बालबालिकाहरू ठूलोबुबाको सहारामा थिए । टक्के सार्की लामो समय मलेसियामा श्रम गरेर गाउँ फर्किएका थिए । तर दायाँ खुट्टा भाँचिएपछि आर्थिक समस्याले उनी तनावमा थिए । ऋण तिर्न नसकेको अवस्थामा उनको अकस्मात निधनले परिवारमा थप विपत्ति परेको छ।
पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाही, उपाध्यक्ष अल्कीना बम बबिताले बालबालिकाको अवस्थाप्रति पालिका गम्भीर रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीयहरूले पनि खाद्यान्न र कपडाको व्यवस्थापन गर्न सहयोग जुटाइरहेका छन् ।
सहयोगको अपिल
१४ वर्षीया पाण्डवाले भाइहरूको पालनपोषण र पढाइलाई निरन्तरता दिने दृढता व्यक्त गरेकी छन् । गाउँले र शुभेच्छुकहरूको सहयोगले आफ्नो जीवनमा नयाँ अध्याय सुरु हुने विश्वास लिएको पाण्डवाले बताइन् । यो हृदयविदारक परिस्थितिमा राज्य र समाजले उचित राहत र व्यवस्थापन गरेर यी बालबालिकाको भविष्य सुनिश्चित गर्नुपर्ने देखिएको स्थानीयहरू बताउँछन् ।
स्थानीय गंगे सार्कीले बालबालिकाहरुका लागि सक्दो सहयोग गर्न सबैमा अपिल गरेका छन् । राहत उपलब्ध गराउनका लागि बालबालिकाका आफन्त तथा पचालझरना गाउँ कार्यपालिका सदस्य गंगे सार्कीलाई मोबाइल नम्बर ९८६५७२३९०९ सम्पर्क गर्न सकिने बताइएको छ ।