भालुवाङ : लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा तीन सय ६५ सवारी दुर्घटना भएको छ ।
पुस महिनामा १२ जिल्लाका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ५७ जनाले मृत्यु भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस्तै एक महिनामा पाँच सय ९२ जना दुर्घटनामा घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार २ सय ६७ सवारी कारबाहीमा परेका छन् । प्रहरी कारबाहीबाट सरकारलाई एक करोड ३० लाख २६ हजार पाँच सय एक रुपैयाँ राजश्व संकलन भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार पुस महिनामा लुम्बिनीमा सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन्, तर दुर्घटनामा ज्यान गुमाउनेको संख्या भने दाङमा धेरै छ ।
रुपन्देहीमा पुस महिनामा ८३ वटा सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् । यहाँ एक सय १६ जना घाइते भएका छन् । यस्तै, दाङमा ५६ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन् । नवलपरासी पश्चिममा ५० वटा सवारी दुर्घटना भएका छन् । यहाँ सात जनाको ज्यान गएको छ भने ९३ जना घाइते भएका छन् । बाँकेमा ५६ वटा दुर्घटना भएका छन् । यहाँ नौ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।
बर्दियामा ४५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । कपिलवस्तुमा ४२ दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् । यहाँ ६५ जना घाइते भएका छन् ।
प्यूठानमा १२ दुर्घटनामा दुई जनाको मृत्यु छ भने २८ जना घाइते भएका छन् । रोल्पामा ११ दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । गुल्मीमा सातवटा दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । पाल्पामा ६ वटा दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । अर्घाखाँचीमा ५ वटा दुर्घटनामा ८ जना घाइते भएका छन् । यस्तै पूर्वी रुकुममा एक दुर्घटनामा चारजना घाइते भएका छन् ।