२०८१ फागुन ३ गते शनिवार / Feb 15 , 2025 , Saturday
२०८१ फागुन ३ गते शनिवार
Ads

दिलबहादुरको तरक्की : २० हजारको लगानी, करोडौंका मालिक

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ ९ गते ०६:२५
दिलबहादुरको तरक्की : २० हजारको लगानी, करोडौंका मालिक

अर्घाखाँची : अर्घाखाँचीको शीतगंगा नगरपालिका– ४ का एक  किसानले  बंगुर र कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै करोडौंका मालिक बन्न पुगेका छन् ।
शीतगंगा– ४ ठाडा अमराईका किसान दिलबहादुर गुरुङ व्यावसायिक बंगुर र कुखुरा  पालनबाट मनग्य आम्दानी गर्दै  अहिले त्यस क्षेत्रमा सबैभन्दा बढी सम्पत्ति जोडेर समाजसेवीको परिचयसमेत बनाउन सफल भएका छन् । 

२०६५  सालदेखि व्यावसायिक बंगुर र कुखुरा पालन गर्दै आइरहेका गुरुङले अहिले वार्षिक ७०–८० लाखसम्म आम्दानी गर्दै आइरहेको बताउँछन् ।

२० हजार रुपैयाँ लगानी गरेर २ वटा बंगुरबाट व्यवसाय सुरु गरेका गुरुङ अहिले डिग्रो, धराने, पोख्रेली तथा स्थानीय जात गरी २ दर्जन बंगुरका पाठापाठी तथा ब्रोइलर जातका कुखुराका चल्लाहरू सप्लाई गर्ने सप्लायर्सका रूपमा स्थापित बनेका छन् ।

विदेशका विभिन्न ठाउँमा पुगेर सफलता प्राप्त गर्न नसकेका गुरुङ अहिले भने १ दर्जन ४ पांग्रे गाडीका मालिकसमेत छन्  । गुरुङले मध्यान्हसँग भने, ‘सुरुमा २ वटा बंगुरबाट व्यवसाय सुरु गरेको हुँ । राम्रो आम्दानी हुन थालेपछि वृद्धि गर्दै आएँ र अहिले विभिन्न जातका ४ दर्जन  बंगुरका माउ छन् । तिनलाई  पालन  गर्दै आइरहेको छु । अहिले वार्षिक आम्दानी १ करोडको हाराहारी छ ।’

दाना, कुखुराका चल्ला, ब्रोइलर कुखुरा, तरकारीको होलसेल गरेका गुरुङ अहिले सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । गाउँको विकासमा दिनरात नभनी दौडिरहेका छन् ।

अरूभन्दा बंगुर, कुखुरा, दाना, चल्लाबाट राम्रो आम्दानी भइरहेको गुरुङको भनाइ छ । गुरुङले भने, ‘सुरुमा बंगुर पालन गर्न त गाह्रो नै भयो । फोहोर बढी गर्ने भएकाले कठिनाइ थियो तर आजभोलि बानी परिसकें । सामान्य नै लाग्छ । बंगुरको सेवा गर्ने ५ जना कर्मचारी पनि छन् ।’

गुरुङ व्यावसायिक कर्मसँगै राजनीतिमा पनि सक्रिय छन् । अहिले उनी नेपाली कांग्रेसको वडा सभापति छन् ।

बंगुर, कुखुरा, दाना र चल्लाको बजारीकरणका लागि खासै समस्या नरहेको बताए । उनले फर्मबाटै साना बंगुरका पाठापाठी ५ हजारसम्ममा विक्री भइरहेकाले आम्दानी पनि राम्रो हुने गरेको सुनाए । बंगुर पालन व्यवसायलाई अझै विस्तार र व्यवस्थित गर्ने सोचमा रहेको दिलबहादुरको भनाइ छ ।

आफ्नै लगानी तथा प्रयासबाट स्वरोजगार, घर परिवार र समाजमा इज्जतका साथ बस्न पाउँदा सन्तुष्ट रहेको उनको भनाइ छ । वर्षको ४ पटकसम्म ब्याउने बंगुरले १ पटकमा १२ देखि १६ वटासम्म बच्चा जन्माउने भएकाले व्यवसाय बढाउन खासै समस्या नहुने गुरुङको बताउँछन् ।

गुरुङकी श्रीमती लक्ष्मीले कृषि  सहकारी संस्था संचालन गरेकी छन् । उनका छोराहरू सबै व्यापारी हुन् भने गुरुङ परिवारले अहिले ४ पांग्रे गाडीको ठूलो ग्यारेज संचालन गरेको छ ।

गुरुङले कुखुरा र बंगुरको व्यापारबाट कमाएको पैसाले ठाडा बजारमा २ वटा सुविधा सम्पन्न पक्की घर र तराईका जिल्लामा जग्गाका साथै ४ पांग्रे गाडीहरू जोडेका  छन् ।

ADV

सम्बन्धित खबर

Advertise