दाङ : लुम्बिनी प्रदेश सरकारले सोमबार प्रदेश स्थापना दिवस मनाउँदैछ ।
सोमबार प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन लागेको हो । प्रदेश सभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिने छ ।
कार्यक्रममा बाजागाजासहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरूका स्टलहरूसमेत राखिने छन् ।
यसैगरी स्थापना दिवसलाई उत्सवमय बनाउन २०, २१ र २२ माघमा ३ दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावली गरी मनाउने कार्यक्रम रहेको छ । शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।
झाँकीहरूको बीचमा प्रतिस्पर्धा पनि गरिने छ । प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सोमबार सार्वजनिक बिदा समेत दिएको छ । लुम्बिनीले हरेक वर्ष २१ माघलाई प्रदेशसभा स्थापना दिवस र ३ फागुनलाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो ।
प्रदेश सरकारले २ वटा दिवसलाई एकैदिन मनाउने गरी २१ माघलाई प्रदेश स्थापना दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा २१ माघलाई प्रदेश स्थापना दिवसको रूपमा मनाउन थालिएको हो ।