वीरगंज : खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सबै सामुदायिक विद्यालयमा शुद्ध तथा स्वच्छ खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।
वीरगन्ज–१३ राधेमाईमा रहेको साउथ जोन माविको १६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री यादवले भने, ‘देशभरका सबै सामुदायिक विद्यालयहरूमा शुद्ध तथा स्वच्छ खानेपानी निःशुल्क रूपमा जडान र वितरण गर्ने प्रतिबद्धता यही कार्यक्रम मार्फत व्यक्त गर्छु ।’
१ वर्षभित्र २७ प्रतिशतबाट शुद्ध खानेपानीको पहुँचलाई ५७ प्रतिशतसम्म पु¥याउने लक्ष्यसहित खानेपानी मन्त्रालयले काम गरिरहेको मन्त्री यादवले बताए ।
सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि निःशुल्क खानेपानी जडान तथा वितरण गर्न शिक्षा मन्त्रालयबाट सहसचिव र खानेपानी मन्त्रालयबाट सहसचिव मिना श्रेष्ठको नेतृत्वमा विशेष टोली गठन गरिसकिएको भन्दै उनले उक्त टोली गृहकार्यमा जुटिसकेको जानकारी समेत गराए ।
देशभरका सामुदायिक विद्यालयहरूमा निःशुल्क शुद्ध खानेपानीको जडान तथा वितरण कार्य केही दिनमै सुरु गरिने उनले बताए ।