चैनपुर : नेपाल प्रेस युनियन सुदूरपश्चिमको अध्ययन समितिको टोली नेपाल पत्रकार महासंघ बझाङ अध्यक्ष ललितबहादुर सिंहमाथि भएको आक्रमणको छानबिनका लागि बिहिबार बझाङ पुगेको छ ।
महासचिव हरिश भट्टको संयोजकत्वको अध्ययन समिति बनेको छ । अध्ययन समितिका संयोजक भट्ट तथा नेपाल प्रेस युनियनका सुदूरपश्चिम उपाध्यक्ष जगत खड्काले शुक्रबार बिहानै अध्यक्ष सिंहको निजी निवासमा गई घटनाको यथार्थ जानकारी लिएका छन् ।
अध्ययन समितिलाई बझाङमा प्रेस युनियनका नेताहरू तथा सरोकारवाला सबै पक्षहरूसँग समन्वय र छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश प्रदान गरिएको छ ।
माघ २८ गते राति पत्रकार सिंहमाथि आक्रमण भएको थियो । आक्रमणकारीले प्रहार गरेको चक्कु लागेर उनको निधारमा गहिरो चोट लागेको छ । घटनामा संलग्न तीन जनालाई बझाङ प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।