२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

जमघटका ‘जक्सन’ : अनौठा नाम, थरिथरि स्वाद

hardik ivf
कुलेन्द्र शाही
२०८१ फागुन १९ गते ०६:२५
जमघटका ‘जक्सन’ : अनौठा नाम, थरिथरि स्वाद

सुर्खेत : बिहान होस्, दिउँसो वा त साँझ, सबैको गफगाफका थलो बनेका छन् प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँमा खोलिएका चिया पसल ।

बजारमा विभिन्न नामका थुप्रै चिया पसल खोलिएका छन् । उक्त चिया पसलमा अलि बढी नै युवाहरूको मोह देखिन्छ । युवाहरू मात्र होइन, चिया पसलमा सबै उमेरका मानिसहरू चिया पिउन आएका भेटिन्छन् । चियाप्रेमीहरू चियाको चुस्कीसँगै साथीभाइसँग रमाइला गफगाफ गर्न र समय बिताउनमा चिया पसलमा निकै जान्छन् ।

यहाँ अनौठा नाम र थरिथरि स्वाद भएका चिया पसल थुप्रै मात्रामा छन् । चियाप्रति नेपालीको आदत बढ्दै जाँदा शहरमा अनौठा नाम र फरक शैलीका चिया पसलहरू खुल्न थालेका छन् । तिनमा दाह्री भाइको चिया पसल, चिया चौतारी, द टी प्वाइन्ट, चिया गफ,  चिया अड्डा, आरबीडी फुड कोर्ट र एम सेभेन नामक चिया पसलहरू सुर्खेतमा निकै प्रख्यात छन् ।

यहाँ स्वदेशीसँगै विदेशी चियाको स्वाद लिन सकिन्छ । चियाको लत मेटाउन खुलेका यस्ता पसलमा युवा पुस्ताको आकर्षण बढ्दो छ । चियाकै लागि प्रख्यात यी पसलमा बिहान–बेलुकी ग्राहकको निकै भीड लाग्छ । चिया पसल र चियादानीमा युवाहरूको रोजाइ हुन्छ दूध चिया, मट्का चिया र कालो चिया । साथै, अन्य खानेकुरा पनि । चिया मात्र होइन, कतिले त ‘चियासँग पफ, साथीसँग गफ’ भन्दै पसलको नारा नै बनाएका छन् । 

एक दशकअघिसम्म यहाँ फाट्टफुट्ट रूपमा रहेका चिया मात्र बेच्न खुलेका पसलको संख्या अहिले बढ्दै गएको स्थानीय पे्रम विक बताउँछन् । उनका अनुसार खाजाघरमा चिया अनिवार्य जस्तै पाइने भए पनि चियाकै लागि खुलेका पसल थोरै थिए । 

‘पहिले चिया खान खाजाघरमा जानुपथ्र्याे । अहिले त चियाघर नै छन् । त्यसबेला चिया कि कालो कि दूधको मात्र हुन्थ्यो’, उनी भन्छन्, ‘अहिले त चियाकै लामो मेन्यु हुन्छ । त्यसैमा नयाँनयाँ स्वाद हुन्छन् ।’

चियासँगै पसलको वातावरण र सेवाबाट आफूहरू प्रभावित भएको चिया पारखी जाजरकोटका श्याम थापा बताउँछन् । ‘सुर्खेतमा यति धेरै होटल, रेस्टुराँ छन् तर मलाईचाहिँ यस्तै चिया पसलहरू राम्रो लाग्छ । सस्तो छ, गफगाफको वातावरण पनि हुन्छ’, उनी भन्छन्, ‘त्यसैले, कहिले साथीहरूसँग त कहिले एक्लै पनि यहाँ आउँछु ।’

एक दशकअघिसम्म काठमाडौं उपत्यकामा फाट्टफुट्ट रूपमा रहेका चिया मात्र बेच्न खुलेका पसलको संख्या अहिले बढ्दै गएको चाबहिलको चियावालामा भेटिएका अमरप्रसाद देवकोटा बताउँछन् । उनी खाजाघरमा पाक्ने चियाभन्दा चिया पसलमा पाक्ने चिया धेरै फरक भएको बताउँछन् । चिया पसलमा पाक्ने बेग्लै स्वादको चियाले उनी आफूलाई मात्र होइन, धेरै युवालाई तानेको बताउँछन् ।

‘चिया चौतारीमा धेरै युवाको जमघट भइरहन्छ । बिहान÷साँझ व्यापारसँगै दिउँसो र साँझपख एकछिन रिफ्रेस हुन पसलबाट निस्किँदा चिया खाने बानी परिसकेको छ’, उनी भन्छन्, ‘साँझतिर चिया, कफीको मीठो स्वादले छुट्टै आनन्द प्रदान गर्छ ।’

सुर्खेतमा मात्र होइन, अहिले देशैभर व्यावसायिक रूपमा चिया पसल खोल्ने ‘ट्रेन्ड’ चलेको छ । सुर्खेतमा खोलिएका चिया पसल जस्तै काठमाडौं, बुटवललगायतका ठाउँमा पनि यस्ता चिया पसलहरूले निकै चर्चा कमाएका छन् । चिया पसलमा ग्राहक आकर्षित गर्न व्यवसायीहरूले विभिन्न उपाय र विधि अपनाएको ‘द टी पोइन्ट’का संचालक दीपक बस्नेत बताउँछन् । 

उनले कम लगानीमै व्यवसायमा जम्न सकिने भएकाले चिया पसलहरू खुल्ने क्रम बढ्दो रहेको बताए । दैलेख रोड चोक नजिकै रहेको ‘टी पोइन्ट’ धेरै युवाको रोजाइमा छ । चियाका पारखीलाई गफगाफमा रमाउने वातावरणसमेत बनेको छ । 

टी पोइन्ट मात्र होइन, भर्खरै संचालनमा आएको ‘चिया गफ’ घण्टाघर नजिकै रहेको चिया चौतारी ‘दाह्री भाइको चिया पसल’, ‘चिया अड्डा’लगायतका पसल युवा पुस्ताले आपसमा भेटघाट, गफ गर्ने र समय बिताउने थलो बनाएका छन् । कतै माटोको भाँडोमा चिया बनाउने अनि माटोकै भाडामा खान दिने पनि गरिन्छ ।

यसरी गाउँलेपन झल्काउँदा बिहानदेखि बेलुकासम्म कंक्रिटले घेरिएका कोठामा रहने शहरका मानिस आकर्षित हुने बस्नेत बताउँछन् । सामान्य आम्दानीका लागि गरिने चिया पसल अहिले व्यावसायिक रूपमा सुरु भएको छ । पछिल्लो समय चिया पसल खोल्ने ‘ट्रेन्ड’ नै चलेको छ, जहाँ ग्राहकलाई आकर्षित गर्न विभिन्न उपाय र विधि अपनाइन्छ ।

चिया पसल खोलेरै कतिपय व्यावसायिक रूपमा सफलसमेत भइरहेका छन् । सर्वसाधारणले सामान्यतया चिया पसलमा भेट्ने, पत्रपत्रिका अध्ययन गर्ने र चिया चुस्कीसँगै वर्तमान÷समसामयिक विषयमा गफिने क्रम पनि बढ्दो रहेको पसलेहरू बताउँछन् । 

यति मात्र होइन, कतिपय पसलहरूमा तस्बिर खिच्ने भिडियो बनाउनेलगायतका कामले महिलाहरू समेत चिया पसलमा गएका देखिन्छ । पसलहरूमा खुल्ला ठाउँ, रमाइलो चहलपहल, मौलिकता झल्काउने सजावट र चाहेअनुसार समय बिताउन सकिने भएकाले ग्राहकको आकर्षण बढ्दो छ ।

चिया पारखीलाई केन्द्रमा राखेर खुलेका चिया पसलले मौलिकपन झल्किने सजावट गर्ने गरेका छन् । आकर्षणका लागि कतै डोको–डालो त कतै खरको छानो, मकैका झुत्ता, बाँसको बार, भुइँमा गिटी–बालुवा र कतै लोप हुन लागेका सामग्री राख्ने गरिएका छन् । सामान्य चिया पसलको भन्दा चिया ब्रान्ड बनाएका पसलमा चियाको मूल्य केही महँगो हुन्छ ।

न्यूनतम २० रुपैयाँदेखि १०० रुपैयाँसम्मका चिया यी पसलहरूमा पाइन्छन् । विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने व्यावसायीक पेसाकर्मीहरू चिया खान र विश्राम गर्न आउने गरेका पसलेहरू बताउँछन् ।

पसलले ग्राहकले इच्छाएअनुसारको चिया दिने गरेका छन् । बस्नका लागि पुराना काठका मुडा, ओखल र पुराना डेस्क–बेन्च तथा राडी छन् । चिया राख्न पुराना टेलिभिजन, सुटकेस र डुंगालाई प्रयोग गरिएको छ । यसले नयाँपन दिनुका साथै आकर्षणसमेत बढाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise