काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले राजमार्ग केन्द्रित ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
३ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वैशाखपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय गरेको हो ।
जसपा नेपालले अहिले जिल्ला, पालिका र गाउँमा ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ सञ्चालन गरिरहेको छ । सो सकिएपछि जागरण अभियान चलाउने प्रवक्ता मनिष सुमनले बताए ।
अभियानको समय तालिका पछि तय गरिनेछ । प्रवक्ता सुमने संगठन निर्माण केन्द्रित अभियान सकिएलगत्तै जनजागरण अभियानको तयारी गर्ने बताए ।
यसैबीच, जसपा नेपालले पदाधिकारी र कार्यकारिणी समितिमा सदस्य थप गरेको छ । बैठकले ११ जना कार्यकारिणी सदस्य, २ उपाध्यक्ष र १ महासचिव थप्ने निर्णय गरेको छ । थप भएसँगै ३१ सदस्यीय कार्यकारिणी समिति ४५ र तीन जना थप गरेर पदाधिकारी १५ सदस्यीय बनेको छ ।