ललितपुर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल भूतपूर्व सैनिक संघको छैटौं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै उनले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्रै कांग्रेस पार्टी बलियो हुने चर्चा गरे । उनले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र सुदृढ हुने र नेपाल समृद्ध मुलुक बन्नसक्ने बताए ।
सभापति देउवाले ने, “लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ, सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो पार्टी बलियो हुन्छ । नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।”
उनले भूतपूर्व सैनिकका सेवा र सुविधाका विषयमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए । उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाए ।
उनले भने ,“नेपालका भूतपूर्व सैनिक साथीको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूतपूर्व सैनिकमा पेन्सनको जुन विभेद् छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।”