काठमाण्डु- कालिकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो ।
२ समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । झगडामा खुकुरी प्रहारबाट राजेश शाहीको मृत्यु भएको हो । सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा बिहीबार जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न ५जनालाई नियन्त्रणमा लिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए । ‘घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,’ उनले भने, ‘पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।’
घटनामा संलग्न रहेको आरोपमा खाँडाचक्र–९ का विवेक मल्ल र १४ वर्षीय दीपेन्द्र मल्ललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य संलग्नहरूको खोजी गरिरहेको छ ।
प्रहरीका अनुसार नातेदारको घरमा रमाइलो हेर्न आएका किशोरहरूबीच विवाद बढ्दै जाँदा खुकुरीसमेत प्रयोग गरिएको देखिएको छ ।
घटनास्थल सदरमुकाम मान्मबाट करिब ३५ किलोमिटर टाढा पर्छ ।