कर्णाली : कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव दिएको छ ।
समितिका संयोजक प्रा. डा. कोइरालाले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सकिने प्रतिवेदन बुझाएका हुन् । प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालको संस्थागत एवं संरचनात्मक सुधारका विकल्पसहित अध्ययन प्रतिवेदन तयार पार्न प्रा. डा. कोइरालाको नेतृत्वमा छ सदस्य समिति गठन गरी चार महिना अघि जिम्मेवारी दिएको थियो ।
उक्त कार्यक्रममा संयोजक प्रा. डा. कोइरालाले जनस्वास्थ्य नियमावली, २०७७ को अनुसूची ४ बमोजिमका विशिष्टिकृत स्वास्थ्य सेवा सुचारु गरी प्रदेशमा विद्यमान स्वास्थ्य सेवाको पहुँच र गुणस्तरलाई सुदृढ बनाउन सरोकारवालाको सुझाव तथा समग्र पक्षको अध्ययनले प्रदेश अस्पताललाई प्रदेशको नेतृत्वदायी अस्पताल एवं स्वास्थ्य प्राज्ञिक केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिएकाले सोही बमोजिम विकल्पसहित प्रतिवेदन तयारी पारिएको बताए ।
उनका अनुसार प्रदेश अस्पतालबाट हालसम्म सञ्चालन हुन नसकेका विशिष्टिकृत सेवाको प्रवाह हुने र यसमा अतिरिक्त आयका स्रोतहरूको पहिचान भई आयस्रोत बढाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
मुख्यमन्त्री कँडेलले कर्णालीवासीका निम्ति एक्लै गर्न नसकिने कामलाई सबैबाट राय सल्लाह लिएर दीर्घकालीन योजना तयार गर्ने उद्देश्यले तथ्य र तथ्यांकसहित विज्ञहरूको प्रतिवेदन खोजिएको बताए । उनले भने, “हामीले प्रतिवेदन ग्रहण गरेका छौँ । अब समितिले दिएको सुझावका आधारमा अगाडि बढ्छौँ । प्रदेशको समग्र स्वास्थ्य प्रणालीलाई राष्ट्रिय स्तरमा उकास्न स्वास्थ्य क्षेत्रको सुधार कार्यका निम्ति प्रतिवेदनलाई आधार मानेर सरकारले अगाडि बढ्छ ।”