-के.बी. बस्नेत
आज पश्चिमी बौद्धिक कुशलताले भौतिक तत्वको ज्ञान एवम् विचार विश्लेषणले सफलता पाएको देखिन्छ । यसरी मानव चेतना तथा जिज्ञासाको परिणामस्वरुप विज्ञानको विकास हुन थालेको हो । विज्ञानको विकासले भौतिक युगको सृजना र भोगविलासको स्रोतसाधनमा सम्पन्नता भई रोमाञ्चकारिताको संसारमा हामी जीवन गुजारिरहेका छौँ । विज्ञान र प्रविधिको विकासले गर्दा यातायात, सञ्चार, विभिन्न व्यवसाय, उत्पादन, उपभोग र वितरणको क्षेत्रमा निकै परिवर्तन आएको छ । वास्तवमा हाम्रो दैनिक आवश्यकताको परिपूर्तिमा जुन सहज र सुगम स्थिति विद्यमान छ, त्यसको लेखाजोखा गरेमा निःसन्देशह पनि विज्ञान र प्रविधिलाई वरदानको रुपमा अङ्गीकार गर्नु अत्युक्ति नहोला । परन्तुः आज विभिन्न देशहरुमा विज्ञानलाई रचनात्मक कार्यहरुको सट्टा ध्वंसात्मक कार्यहरुमा परिचालन गर्न थालिएकोले यी देशहरुको विभिन्न क्षेत्रहरुमा नकारात्मक असर पर्न गएको कुरा सर्वविदितै छ ।
वस्तुतः केही विकसित राष्ट्रहरुले विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति गरे तापनि अधिकांश देशहरु यस क्षेत्रमा निकै पछाडि परेका छन् । यी देशहरु विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि पर्नाका प्रमुख कारणहरुमध्ये गरिबी र दक्ष जनशक्तिको कमीलाई विशेष मान्न सकिन्छ ।
नेपाल आजसम्म पनि विज्ञान र प्रविधिको क्षेत्रमा निकै पछि परेको छ । हुन त विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यले यहाँ विगत केही दशक यता विज्ञान र प्रविधिको विकासमा केही जोड दिन थालिएको छ । तर हालसम्म पनि यी संस्थाहरुले यहाँको आवश्यकता अनुरुप काम गर्न सकेका छैनन् । जसको फलस्वरुप यहाँका विभिन्न क्षेत्रहरुमा आजसम्म पनि ठोस प्रगति हुन सकेको छैन ।
आज नेपालमा तीव्र जनसंख्या वद्धिको कारणले विभिन्न क्षेत्रमा विभिन्न समस्याहरु विद्यमान छन् । एकतर्फ खाद्यान्नको कमी एवम् कमजोर व्यवस्थापनको कारणले भोकमरीको समस्या दिन प्रतिदिन जटिल हुँदै गएको छ भने अर्काेतर्फ बेरोजगारीको समस्या तीव्र गतिले बढिरहेको छ । यहाँ विज्ञान र प्रविधिको ठोस विकास गर्न सकेमा उपयुक्त समस्याहरु न्यून गर्न ठूलो सघाउ पुग्न सक्छ । यही कारणले गर्दा आज विश्वका धेरै राष्ट्रहरुमा विज्ञान र प्रविधिको विकासमा विशेष ध्यान आकृष्ट हुन थालेको छ । तर नेपालमा आजसम्मपनि सम्बन्धित क्षेत्रबाट विज्ञान र प्रविधिको विकासमा खास ध्यान पुर्याउन सकेको देखिदैन र विद्यार्थीहरुले पनि यसतर्फ खासै ध्यान दिएको देखिदैन ।
वास्तवमा भन्ने हो भने विभिन्न कठिनाइहरुका बाबजूद वर्तमान समयमा नेपालले विकसित राष्ट्रहरुको जस्तो जटिल प्रविधिको विकास गर्न सक्दैन । त्यसैले यसले परम्परागत प्रविधिको विकासमा जोड दिई विभिन्न क्षेत्रमा अग्रसर हुन नितान्त आवश्यक छ । यसो गर्न सकेमा पनि हाल यहाँ विद्यमान गाँस, वास र कपास र समस्याको समाधान केही मात्रामा भएपनि हुन सक्छ । तर विगतको सरकारले यसतर्फ खास ध्यान आकृष्ट गर्न र गराउन सकेन । फलतः यहाँ विज्ञानको क्षेत्रमा कुनै ठोस उपलब्धि गर्न सकिएन ।
नेपालमा प्रचुर मात्रामा विभिन्न किसिमका स्रोत साधनहरु भएपनि यिनीहरुको राम्ररी परिचालन गर्न सकिएको छैन । यसले विगत धेरै वर्षदेखि हालसम्म पनि हामी धेरैजसो चीजहरुको लागि अन्य देशहरुमा भर पर्नुपरेको छ । यति मात्र होइन, व्यापार घाटा बढ्नाले यहाँको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । अतः परम्परागत प्रविधिको विकास गरी स्थानीय स्रोत तथा साधनहरुको अधिकतम परिचालन गर्नसके यहाँको अर्थतन्त्र सबल बनाउन ठूलो सघाउ पुग्न सक्ने कुरा नकार्न सकिँदैन । यसको लागि प्रत्येक वर्ष स्थानीय स्रोत तथा साधनहरुको परिचालनमा केही धनराशी छुट्याउन धेरै आवश्यक छ । यसको साथसाथै स्थानीय स्रोतसाधनहरु परिचालन गरी योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने व्यवस्था हुनुपर्छ । यस्तो परिपाटीको जग बसाल्न सकियो भने नेपालमा विज्ञान तथा प्रविधिको विकासमा नयाँ आयाम थपिने अपेक्षा गर्न सकिन्छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुआयामिक र बहुसांस्कृतिक विशेषतायुक्त देश हो । प्राकृतिक छटा र सुन्दरताका कारण पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न विश्वविख्यात पत्रपत्रिका तथा संस्थाहरुले यो देशलाई उत्कृष्ट गन्तव्यस्थलको रुपमा समावेश गरेका छन् । तर, आवश्यक पूर्वाधारको कमी र सरकारको यथोचित ध्यान पुग्न नसक्नाले यहाँ आजसम्म पनि पर्यटकहरुको आगमन सन्तोषजनक रुपबाट हुन सकेको छैन ।
सांस्कृतिक विविधता, भौगोलिक पर्यावरण र अतिथि सत्कार गर्ने परम्पराको कारण नेपाल पर्यटकहरुको रोजाइमा सधैं नै परेको छ । तर पर्यटन उद्योगको धेरै सम्भावना भए पनि यहाँ उक्त उद्योगबाट अपेक्षित फाइदा लिन सकेको छैन । यो खास गरेर विगतका सरकारहरुको कमीकमजोरीले नै गर्दा हो भन्न सकिन्छ ।
आज विज्ञान र प्रविधिको विकासले विश्व नै एउटा सानो गाउँको रुपमा परिणत हुँदैछ । तर नेपालमा आजसम्म पनि उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । वास्तवमा यहाँ पनि विज्ञान र प्रविधिको विकास गरी विद्यमान राष्ट्रिय सम्पदालाई विश्वसमक्ष प्रस्तुत गरेर विश्व पर्यटन बजारबाट अत्याधिक फाइदा लिन सकिन्छ ।
हालसम्म पनि यहाँका अधिकांश जनता कृषिमा आश्रित छन्, तर आजसम्म पनि यहाँ परम्परागत किसिमबाट खेतीपाती गर्नाले उक्त व्यवसायबाट खासै फाइदा हुन सकेको छैन । जनसंख्या वृद्धिको तुलनामा कृषि उत्पादन बढाउन नसक्नाले प्रत्येक वर्ष खाद्यान्नको आयात बढाउनुपरेको छ । यसको कारणले यहाँको व्यापार घाटा प्रत्येक वर्ष बढिरहेको छ ।
कुनै पनि देशको कुनै पनि क्षेत्रको ठोस विकासका लागि त्यस देशमा लागू गरिएको नीति–नियमहरुले महत्वपूर्ण भूमिका खेल्छन् । यसैले नेपालमा पनि विज्ञान र प्रविधिको ठोस विकासका लागि उपयुक्त नीति तथा नियमहरु तर्जुमा गरी कार्यान्वयन गर्न विशेष जोड दिन अति आवश्यक छ । यी कुराहरु बाहेक यहाँ विज्ञान र प्रविधिको विकास गरी अधिकतम लाभ लिन एकतर्फ विज्ञान र प्रविधिको महत्वबारे व्यापक प्रचार–प्रसार गरी यहाँका बालबालिकाहरुलाई सानै उमेरदेखि विज्ञान तथा प्रविधिको महत्वबारे विशेष ध्यान आकृष्ट गर्न आवश्यक छ भने अर्काेतिर यस किसिमको शिक्षाबाट देशमा परेको प्रभावको बेलाबेलामा मूल्यांकन गरी समसामयिक सुधार गर्न उत्तिकै जरुरी छ ।
वर्तमान समयमा यहाँका नागरिकहरुको हक तथा अधिकारलाई कुण्ठित नहुने गरी विज्ञान र प्रविधिको विकासमा सरकारले प्रोत्साहन दिएमा समृद्धिका लागि विकास भन्ने मूलमन्त्रलाई साकार बनाउन बल पुग्नेछ ।
विज्ञान र प्रविधिको विकासका लागि अनुसन्धानको आवश्यकता पर्छ जसका लागि प्रचुर धनराशीको जरुरी छ । यो कुरा विकसित देशहरुको अनुभवबाट बोध हुन्छ । परन्तु यहाँ अनुसन्धानका लागि न्यून बजेट छुट्याउने परम्परा भएकोले उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । त्यसैले यसतर्फ सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies