पाल्पा : पाल्पामा चालू आर्थिक वर्षको आठ महिनामा एक सय ८८ नयाँ क्षयरोगी भेटिएका छन् । जिल्लाका दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत वर्ष तीन सय ६३ क्षयरोगी फेला परेकामा यस वर्ष आठ महिनामा एक सय ८८ जना फेला परेका र तिनीहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । आठ महिनाको अवधिमा सबैभन्दा बढी तानसेनमा ४०, रामपुरमा ३७, रैनादेवी छहरामा १९, माथागढी तथा निस्दीमा १८/१८ क्षयरोगी फेला परेका छन् ।
यस्तै पूर्वखोलामा १५, तिनाउमा १२, बगनासकालीमा ११, रिब्दीकोटमा १० र रम्भामा आठ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष १३ जनाको क्षयरोगका कारण मृत्यु भएको कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी रामपुरमा चार जना रहेका छन् । अन्य पालिकामासमेत क्षयरोगीको मृत्यु भएको थियो । यस वर्षको आठ महिनाको अवधिमा १४ जनाको मृत्यु भएको जनाइएको छ । क्षयरोग देखिएपछि नियमित औषधि सेवन नगर्ने र स्वास्थ्य जाँच गर्न नआउने बिरामीको मृत्यु भएको हो ।
जिल्लामा क्षयरोगीको सङ्ख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता भने मिल्न सकेको छैन । विगत १८ वर्षदेखिको अवस्था हेर्दा क्षयरोगीको सङ्ख्या स्थिरजस्तो देखिएको छ । कुनै वर्ष केही सङ्ख्या थपिएको छ, भने कुनै वर्ष केही ओरालो लागेको देखिन्छ । जिल्लामा आर्थिक वर्ष २०६३/६४ देखि अहिलेसम्म छ हजार आठ सय २५ जनामा क्षयरोगको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो १८ वर्षको अवधिमा उक्त बिरामीको ग्राफमा उल्लेखनीय रूपमा कमी आउन सकेको छैन ।
जिल्लामा विगत १८ वर्षको तथ्याङ्कलाई हेर्दा स्वास्थ्य कार्यालयले २०३५ सम्ममा जिल्लालाई नगन्य रूपमा लैजाने लक्ष्य राखे पनि पूरा नहुनेमा शङ्का गर्न थालिएको छ । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सूक्ष्म कीटाणुबाट हुने सरुवा रोग भएको कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए ।
यहाँका सबै पालिकामा खकार जाँच गर्ने उपकरण रहेका छन् । जिल्लामा ७२ क्षयरोग उपचार केन्द्र, माइक्रोस्कोपी केन्द्र १२ र जिन एक्पर्ट जाँच केन्द्र दुई वटा रहेका छन् । जिन एक्पर्ट जाँच तानसेनको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा मात्र गर्ने गरिएको छ ।
क्षयरोगको शङ्का लागेका बिरामीलाई पालिकामै खकार जाँच गरेर नियमित नि:शुल्क उपचार तथा औषधिको व्यवस्था गरिएको जिल्लाका पालिकाले जनाएका छन् ।