२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

भूकम्पबाट नभत्किने घर बनाऔं : प्रधानमन्त्री

मध्यान्ह
२०८२ वैशाख १२ गते १५:४५
भूकम्पबाट नभत्किने घर बनाऔं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना बनाउन आग्रह गरेका छन् । गोरखा भूकम्पको १०औँ स्मृति सभा कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पले पु¥याएको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनर्निर्माण गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे ।

विपद्बाट क्षति नहुने खालका संरचना बनाउनु र भूकम्पबाट नभत्किने घरहरू निर्माण गर्नु आवश्यक रहेको उनले बताए ।

विपद्बाट संरचनाको क्षति हुन पर्खिने नभई क्षति हुनै नदिने गरी आवश्यक तयारी गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । उनले प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने बताए । भूकम्प गएर भत्किएपछि मात्रै पुनर्निर्माण गर्नेभन्दा पहिल्यै सुरक्षित भएर बस्ने बाटो रोज्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘२०७२ सालको भूकम्पजस्तो कुरा हाम्रो राष्ट्रले जतिसुकै लचकता देखाए पनि आर्थिक अवस्था, बजेट र क्षमताले पुनर्निर्माण गर्न सक्ने अवस्था थिएन । त्यसैले हामीले पहिले नै त्यस्ता संरचना बनाउनु आवश्यक छ, जसले क्षति हुन नदियोस् । भूकम्पबाट नभत्किने खालका घरहरू बनाउन जरुरी छ । भत्किउन्जेल पर्खिने होइन ।’

उनले भने,‘पहाडतिर प्रायः घरहरू डल्ला–डल्ला ढुंगा मिलाएर बनाइएका हुन्छन् । ती ढुंगामा माटो मिसाएर पर्खाल लगाइएको हुन्छ । अलिकति हल्लिँदा पनि ती संरचना भत्किहाल्छन् । अझै पनि यस्ता धेरै घरहरू बाँकी छन् । ती घरहरूलाई हरेक व्यक्तिले आफैँ सुरक्षित बनाउने कुरामा ध्यान दिन जरुरी छ ।’

ओलीले जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्बन गर्न जरुरी रहेको बताए । 
 

ADV

सम्बन्धित खबर