रौतहट : रौतहटको गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा एक बालकको शव फेला परेको छ । विगत ५ दिनदेखि हराइरहेका वृन्दावन नगरपालिका-७ बस्ने १४ वर्षीय कृष्णप्रसाद यादवको शव पानीमा घोप्टो परेको अवस्थामा शुक्रबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।
बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको डीएसपी कार्कीले जानकारी दिए । बालकको पेट र कन्चटमा गहिरो घाउ देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान गरिएको कार्कीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ । मृतक कृष्ण गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी आफ्नै मोटरसाइकल चढेर निस्किएका थिए । ३ दिनसम्म बालक घरमा फिर्ता नआएपछि गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ज्येष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासका लागि निवेदन दिएको थियो ।