काठमाडौं : २०७२ सालमा गएको भूकम्प र त्यससँगै भारतीय पक्षबाट गरिएको नाकाबन्दीका बेला समग्र नेपालको पर्यटन उद्योग धरासायी बनेको थियो । पर्यटकीय राजधानीको रुपमा परिचय पाएको पोखरा पनि त्यस सयम निकै संकटमा पुगेको थियो । उक्त संकटलाई अहिलेको कोभिड–१९ को कहरले पुनः ताजा बनाएको छ ।
पोखरेली पर्यटन व्यवसायीका अनुसार कोरोना कहरले पर्यटन उद्योग फेरि खुल्छ कि खुल्दैन् भन्ने अन्यौंलसमेत बनाएको छ । कोरोनाकै कारण कतिपय पर्यटन व्यवसायी सधैंका लागि समेत विस्थापित भएका छन् ।
कोरोना कहर र कहरले पर्यटन उद्योगमा पारेको प्रभावबारे हामीले पोखरेली पर्यटन व्यवसायीसँग कुराकानी गरेका छौं । पोखरा पर्यटन परिषदका उपाध्यक्षसमेत रहेका पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठसँग मुख्यतः पोखराको पर्यटन व्यवसायबारे केन्द्रीत रहेर गरिएको कुराकानीको संवादित अंश :
नेपालमा कोरोना कहर कम हुुँदै गएको छ । कहर कम हुँदै गर्दा पर्यटन क्षेत्रको हबको रुपमा परिचित पोखराको अवस्था कस्तो छ ?
कोभिड–१९ को कारण समग्र नेपालकै पर्यटन क्षेत्र नाजुक अवस्थामा छ । पर्यटकीय केन्द्रको रुपमा रहेको पोखरा झन् अप्ठ्यारो अवस्थामा छ । तर पनि हामी जागरुप भएर उठ्ने जर्मर्को गर्दैछौं । यहाँका व्यवसायीहरु पर्यटन क्षेत्रलाई पुनः चलायमान गराउन सकिन्छ भएर सक्रियतापूर्वक लाग्नुभएको छ । अहिले पर्यटन परिषद पनि सक्रियतापूर्वक अगाडि बढेको छ । अहिलेको स्थितिअनुसार अगाडि बढ्न हामी आन्तरिक पर्यटनलाई आर्कषित गर्ने गरि गतिविधिहरु गरिरहेका छौं । हाम्रो मिशन पनि आन्तरिक पर्यटकलाई जति सक्दो धेरै पोखरामा भित्र्याउने तर्फ केन्द्रीत छ । हाम्रा प्रोमोशनल कार्यक्रम पनि त्यसैतर्फ केन्द्रीत छन् ।
कोरोना कहरले पर्यटन क्षेत्रमा निकै ठूूलो क्षति भयो भन्ने छ । व्यवसायी र व्यवसायीहरुको नेतृत्व गर्ने ठाउँमा बसेर हेर्दा अवस्था कस्तो देख्नुभएको छ ?
लगानीको हिसाबले पोखरामा मात्रै हेर्दा पर्यटन क्षेत्रमा खरबौंको लगानी छ । निरन्तर र नियमित लगानीहरु यो क्षेत्रमा भित्रिरहेको थियो । तर, पछिल्लो भ्रमण वर्ष २०२० को नाममा पोखरामा निकै ठूलो लगानी भित्रियो । कोरोना कहरले ति सबै लगानीलाई अन्यौंलमा पुर्याएको छ । सुरु नै नभई व्यवसाय बन्द हुन पुगेपछि लगानीकर्ता निकै निराश छन् ।
अर्कोतर्फ लगानी गरेर सञ्चालनमा आएका धेरै व्यवसाय पनि कोरोना कहरका कारणले ठूलो नोक्सानीमा परेका छन् । अहिले कुनै पनि पर्यटन व्यवसायीसँग बैंकलाई ब्याज तिर्ने हैसियत छैन् । मेरो बुझाईमा अझै डेढ दुई वर्ष हामीले धैर्यताका साथ कुर्नुपर्ने स्थिति छ ।
यो अवस्थामा कतिपय व्यवसायी विस्थापित पनि हुनुभएको छ । हाम्रो अनुमानमा ३० प्रतिशत जति विस्थापित भईसकेको अवस्था छ । केहि साथीहरु केहि होला भनेर एउटा अठोट र आँटका साथ पर्खाइमा पनि हुनुहुन्छ ।
तपाईँले भनेजस्तै ‘नेपाल भ्रमण वर्ष २०२०’को नाममा भित्रिएको सबै लगानी डुब्ने स्थिति भयो । के पोखरेली पर्यटन व्यवसायी विस्थापित हुुनुुमा पनि यसको भूमिका बढि छ ?
भिजिट वर्ष २०२० को नाममा पोखरामा निकै लगानी भित्रिएको थियो । कोरोनाको कारण ति सबै लगानी अन्यौंलमा पर्ने स्थिति मात्रै बनेन् कतिपय लगानीकर्ता सधैँका लागि विस्थापित हुने अवस्थामा पनि पुगे ।
भिजिट २०२० को नारामै फाइभ स्टार र फोर स्टार लेबलका होटलहरु पनि थपिए । हाम्रो तथ्यांकमा साना थ्रि स्टार र टु स्टार होटलहरु मात्रै त्यहि नारामै ४०/५० को संख्यामा सुरु हुँदै थिए । ति सबै व्यवसायी व्यवसाय सुरु नहुँदै अन्यौंलमा पुगेका छन् । सञ्चालनमा भईरहेकालाई पनि धान्न निकै कठिन परेको छ ।
पर्यटन उद्योगभित्र पनि धेरै प्रकृतिका व्यवसायी छन् । योबीचमा अलिबढि कुन प्रकृतिका व्यवसायी विस्थापित भए ?
भूकम्प र भारतीय नाकाबन्दीले जसरी व्यवसायको प्रकृतिअनुसार असर गरेको थियो कोरोनाले पनि त्यसैगरि असर गरेको देखिन्छ । समग्रमा सबै व्यवसायलाई समस्यामा पारेको भएपनि ट्राभल, टान र होटेल क्षेत्रलाई निकै संकटमा पुर्याएको देखिन्छ ।
अहिलेसम्म पनि ती व्यवसायमा व्यवसायीक गतिविधि शुन्य बराबर नै छ । अन्तराष्ट्रिय उडान सुरु हुन सकेको छैन् । आन्तरिक पर्यटन पनि त्यति चलायमान हुने अवस्थामा छैन् । ट्रेकिङ्ग जाने पनि अधिकांश विदेशी नागरिक नै हो । त्यसकारण ट्रेकिङ्ग पनि शुन्य नै छ । अलि अलि होटेलहरु चलेको छ । समग्रमा होटेलहरु पनि चल्ने अवस्थामा छैनन् ।
अहिले त कोरोना खोप पनि आएको छ । कोरोनाको खोप बनेसँगै केही उत्साह देखिएको भन्ने छ । यसको संकेत कस्तो पाउनुभएको छ ?
कोरोना खोप नेपालमा पनि भित्रिसकेको छ । लगाउने क्रम जारी छ । सरकारीसँगै निजि क्षेत्रले पनि कोरोना खोप भित्र्याउँदैछ । मलाई लाग्छ, कोरोना खोप आएर सबैले लगाउने स्थिति भयो भने जनजीवन सामान्य तिर जान्छ ।
योबीच व्यवसायलाई तत्काल सुरुवात गर्ने स्थिति बनाउन बाह्य उडानलाई निर्वाध सुचारु गर्न तर्फ लाग्नुपर्छ । भारतको सीमाबाट भित्रने पर्यटकलाई पनि सहज गर्नुपर्छ ।
ठमेलका पर्यटन व्यवसायी आन्दोलित छन् । उनीहरुले अराइभल भिषादेखि पर्यटक आगमनलाई सहज हुने केही मुद्दाहरु अगाडि उठाउनुभएको छ । यसबारे पोखराका व्यवसायीको धारणा के हो ?
राज्यले अब ढिलो नगरी अराइभल भिषा खुल्ला गर्नुपर्छ । खोप लगाएकालाई सहज रुपमा भिषा दिने व्यवस्था हुनुपर्छ । आउने पर्यटकलाई आवश्यकअनुसार पिसिआर परिक्षण गर्ने र क्वारेन्टिको व्यवस्था गर्ने तर्फ सरकारले कार्यक्रम ल्याउनुपर्छ । अहिले पिसिआर परिक्षणको पनि केहि घण्टामै नतिजा हेर्न सकिने व्यवस्था छ । परिक्षणको अवधिभर विशेष निगरानीमा राख्ने व्यवस्था मिलाउन सकिन्छ । नेगेटिभ आयो भने गन्तव्यमा जान दिने र पोजेटिभ आयो भने त्यहि अनुसारको व्यवस्था गर्न सकिन्छ ।
उत्तर र दक्षिणका सबै सीमा खुल्ला गर्नुपर्छ । उडान र सीमालाई निर्वाध खुल्ला गर्ने वातावरण तत्कालै मिलाउनुपर्छ ।
राज्यले पनि विस्तारै पर्यटन क्षेत्रलाई खुल्ला गर्ने नीति लिएको छ । यो स्थितिमा पर्यटन व्यवसायीको पनि दायित्व रहन्छ कि रहँदैन ? के छ तपाईँहरुको तयारी ?
म पनि व्यवसायी हुँ । मेरो होटेलमा पनि सरकारले भनेका सबै मापदण्ड पालना भएका छन् । मसँगै सबै व्यवसायीले त्यसरी पालना गरेको देखिन्छ । अहिले भएका पर्यटकलाई पनि त्यसैगरि ध्यान राखिएको छ ।
सरकारलाई फेरि पनि अनुरोध छ, पर्यटकलाई बोलाउन ढिलो गर्न हुँदैन् । स्वास्थ्यलाई एक नम्बरमा ख्याल गर्दै बोलाउनु पर्छ ।
कोरोनाकै कारण धरासायी हुने मात्रै नभएर विस्थापित हुने अवस्था पनि बन्यो । यो अवस्थामा व्यवसायीका लागि सरकारले ल्याएको कार्यक्रमहरु कति अर्थपूर्णं छन् ? के मान्नुभएको छ ?
सरकारले व्यवसायीको मागअनुसार सहुलियतपूर्णं कर्जाको व्यवस्था गराउँछौ भन्यो तर, अहिलेसम्म एकजना व्यवसायीले पनि कर्जा लिन पाएका छैनन् । घोषणा गर्दैगर्दा उत्साहित व्यवसायी निराश हुने अवस्था आएको छ । यो अन्यौंलतालाई सरकारले तत्कालै सम्बोधन गर्न आवश्यक छ ।
अर्कोतर्फ, व्यवसायीहरुले लिएको ऋणको ब्याज तिर्न नसकेर अप्ठ्यारोमा पर्ने स्थिति पनि छ । सरकारसँग हाम्रो माग, लिएको ऋणमा ब्याज सहुलियत दिने व्यवस्था गरियोस् भन्ने हो । हामीले ऋण तिर्छौं तर, ब्याज सहुलियत र ऋण तिर्ने भाकालाई कम्तिमा दुई वर्ष थप गरियोस् ।
अहिले कुनै पनि व्यवसायीसँग साँवा, ब्याज तिर्ने हैसियत छैन् । पक्कै पनि कोरोना खोप सर्वसुलभ हुँदै गर्दा अवस्था सामान्य होला । सहज भएसँगै नेपालको पर्यटनले अर्को फड्को मार्ने पक्का छ । त्यो अवस्थामा व्यवसायीहरुलाई ऋण तिर्न समस्या हुँदैन तर, अहिले अवस्था छैन् ।
अहिले विश्वभरका पर्यटक घरमै थुनिएर रहेका छन् । उनीहरु घुम्न आतुर छन् । यस्तो अवस्थामा सरकारले पर्यटक भित्र्याउन तत्कालै कदम चाल्नुपर्छ । छिटोभन्दा छिटो बाह्य उडान खुल्ला गर्ने र सीमा खुल्ला गर्ने नीति लिनुपर्छ । सरकारले नेपाल घुम्न निकै सुरक्षित छ भनेर प्रचार गर्न आवश्यक छ । कोरोनाले नेपाल अन्य देशजस्तो प्रभावित भएको अवस्था होइन् । हामीले यसलाई प्रचार गरेर पर्यटनबाट फाईदा लिनुपर्छ ।
सहुुलियतपूर्णं कर्जाको सन्दर्भमा राज्यले नीति ल्याउँदा समस्या भयो कि व्यवसायीले माग गर्दा प्रक्रिया मिलेन ? समस्या कहाँ देखियो ?
सरकारले घोषणा गरेको राहत कसरी लिन सकिन्छ भनेर हामी व्यवसायी लागेका छौं । तर, वित्तिय संस्थाहरुले घोषणा भएको भएपनि कार्यविधि नआएको भन्दै अल्झाईरहनु भएको छ । त्यसकारण सरकारले भनेका कुराहरु छिटोभन्दा छिटो कार्यान्वयन ल्याउनु पर्यो । हाम्रो माग सरकारले घोषणा गरेको राहत हामीले समयमै पाउनु पर्यो भन्नै नै हो । कहाँ समस्या हो राज्यले ध्यान दिन पर्यो । बैंकहरुले पनि सस्तो कर्जा, पुनर्कर्जा छिटोभन्दा छिटो हामीलाई दिलाई दिनु पर्यो ।
अन्तिममा कोरोनाको कारण धरासायी बनेको यो उद्योगलाई पुनः चलायमान गराउन सरकारको तर्फबाट र स्वंय व्यवसायीको तर्फबाट के–कस्तो कार्यक्रम ल्याउन आवश्यक छ ? कस्ता नीतिहरु बन्न आवश्यक छन् ? तपाईँ व्यवसायी र व्यवसायीको छाता संगठनको तर्फबाट के भन्नुहुन्छ ?
सुरुमा व्यवसाय चलायमान गराउन तर्फ राज्यले तत्कालै कार्यक्रम ल्याउन आवश्यक छ । त्यसको लागि हवाईमार्गबाट आउने पर्यटक, दक्षिण र उत्तरी सीमाबाट आउने पर्यटकलाई सहज वातावरण बनाईदिनुपर्यो । पर्यटकको लागि अनअराइभल भिसा तत्कालै खुल्ला गरिदिनुपर्यो ।
सरकारले विभिन्न देशहरुमा कुटनीतिक पहलमार्फत नेपाल सुरक्षित छ, कुनै समस्या छैन भन्ने सन्देश संसारभर पुुर्याइदिनुपर्यो । व्यवसायीलाई किस्ता र ब्याज तिर्नको लागि कम्तीमा दुुई वर्षको अवधी तोकिदिनुपर्यो । आन्तरिक पर्यटकलाई चलायमान गराउन सातामा दुई दिन बिदा दिने कार्यक्रमलाई जतिसक्यो छिटो लागु गरिदिनुुपर्यो । अर्कोतर्फ सरकारीसँगै निजि क्षेत्रले पनि वर्षको एक/दुई पटक आफ्ना कर्मचारीलाई अनिवार्य घुम्न जाने व्यवस्था गरिदिनुपर्यो ।
हामी व्यवसायीको तर्फबाट पनि आन्तरिक रुपमा पर्यटन प्रबद्र्धन गर्ने कार्यक्रमलाई निकै आक्रामक रुपमा अगाडि बढाएका छौं । हालै मात्र नाट्टा गण्डकी प्रदेश र बाँके नाट्टाले पोखरादेखि नेपालगञ्ज जाने उडानको सुरुवात भएको छ । यसले मुख्यतः भारतीय पर्यटकलाई पोखरा भित्र्याउन र पोखराका पर्यटकलाई पश्चिम नेपाल क्षेत्रका पर्यटकीय क्षेत्र पुर्याउन सहज पुर्याउनेछ ।
पर्यटन परिषदको तर्फबाट पनि सबै पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसँग समन्वयन गरेर पर्यटन प्रबद्र्धन गर्ने गतिविधिहरु अगाडि बढाईरहेका छौं । यसलाई हामी बृहत रुपमा अगाडि बढाउँछौं । हामी विशेष गरि भारतका विभिन्न ठाउँहरुमा तत्कालै पर्यटन प्रबद्र्धनका कार्यक्रम चलाउँछौं । हामी कम्तीमा पोखरालाई केन्द्रीत गरेर कम्तीमा वर्षेनी १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित काम गरिरहेका छौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies