भरतपुर : चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवाको सुरुवात गरे ।
जिम्मेवारी सम्हाल्नासाथ संघीय राजधानी केन्द्रित विशिष्टिकृत उपचार प्रदेशस्तरसम्म पु¥याउने घोषणा गरेका मन्त्री पौडेलले क्यान्सरको विस्तारित उपचार, मानव अंग प्रत्यारोपणसँगै मुटु उपचार विस्तार गरेका हुन् ।
सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास गरे ।
अस्पतालमा निर्मित जलन वार्डकोसमेत मन्त्री पौडेलले उद्घाटन गरे । अब भरतपुर अस्पतालमा जलनका बिरामीको समेत उपचार हुनेछ । मन्त्री पौडेलले विपन्नलाई जलन उपचार निःशुल्क बनाउँदै प्रदेशस्तरमा सेवा दिने घोषणा गरेका छन् ।
यससँगै संघ सरकारअन्र्तगतको भरतपुर अस्पतालमा सन्तानविहीनका लागि इनफर्टिलिटी क्लिनकसहितका ८ सेवा सुरु भएको छ । वैशाख महिनामा सेवा थाल्ने तालिकाअनुसार अस्पतालमा सेवा सुरुवात भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।