काठमाडौं : वैदेशिक रोजगार विभागले आकर्षक तलवसहित युक्रेन पठाउने भन्दै गैर कानूनीरुपमा रकम र पासपोर्ट संकलन गर्दै आएको काठमाडौंको पुरानो बानेश्वरस्थित स्काइवार्ड एजुकेशन कन्स्लटेन्सी नियन्त्रणमा लिएको छ ।
शैक्षिक परामर्शका लागि अनुमति पाएको उक्त कन्सल्टेन्सीले युवाहरुलाई राम्रो तलव हुने भन्दै युक्रेन पठाउन तयारी गरेको अवस्थामा प्रहरीको सहयोगमा कम्पनीको गतिविध नियन्त्रणमा लिएको हो । उक्त कम्पनीले युक्रेन पठाउने भन्दै प्रति व्यक्ति ६ लाख रुपैयाँ लिने गरेको बताइएको छ ।
छानविनका क्रममा उक्त कन्सल्टेन्सीले वर्कपर्मिट आइसेकको भन्दै रकम उठाएको पाइएको विभागले जानकारी दिएको छ । विभागले थप छानविनका लागि रसिद, दुई वटा ल्यापटप, सात थान राहदानी, केही थान लेजरबुक र फाइल नियन्त्राणमा लिएको बताएको छ ।
वैदेशिक रोजगार व्यवसायी बाहेक अन्यलाई वैदेशिक रोजगारीमा पठाउने कानुनी अधिकार छैन । तर कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, एजेन्ट लगायतले पठाउने गरेका छन् । क्रोयसिया, युक्रेन जस्ता मुलुक पठाउने भन्दै ठगी बढेपछि विभागले केही समययता दैनिक अनुगमन गरिरहेको छ । अनुगमनमा विभिन्न कन्सल्टेन्सीहरुले व्यक्तिगत श्रम स्वीकृतिद्वारा विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर चर्को असुली गर्ने गरेको अनुगमनमा संलग्न विभागका एक कर्मचारीले जानकारी दिए ।
सेल्सपर्सन र बोल्स्टर विशेषज्ञ, मेकानिक्स, ड्राइभर, वितरण केन्द्र मजदुर र अदक्ष कामदारको युक्रेनमा माग रहेको छ । नेपालमा युक्रेनी दूतावास नभएका कारण नेपालीहरु भारतको नयाँ दिल्लिस्थित युक्रेनको दूतावास पुगेर भिसा लगाउने गरेका छन् । भिसाका लिन अन्तर्वार्ताका लागि केही समय प्रतिक्षा गर्नुपर्ने भएका कारण लागत बढ्ने कतिपयको भनाइ छ ।
नेपालीहरु रोजगारीका लागि ठुलै रकम खर्च गर्न तयार भएपनि युक्रेनीहरु भने युरोपका अन्य मुलुकहरुमा राम्रो कामका अवसर खोजेर जाने गरेका छन् । युक्रेनमा भन्दा युरोपका अन्य मुलुकहरुमा युक्रेनीहरुले सामान्य रोजगारीका लागि पनि शुरुवाती तलब युक्रेनको तलबको झण्डै दोब्बर पाउने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies