२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

वाटरपार्कमा प्रवेश नपाएपछि विद्यार्थीहरूद्वारा तोडफोड

मध्यान्ह
२०८२ जेठ ३ गते १७:२४
वाटरपार्कमा प्रवेश नपाएपछि विद्यार्थीहरूद्वारा तोडफोड

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा रहेको वाटरपार्कमा प्रवेशको विषयमा झडप भएको छ ।

विशेष छुटको नाममा अत्यधिक संख्यामा विद्यार्थी बोलाइए पटिछ प्रवेश नपाउँदा आक्रोशित विद्यार्थीहरूले पार्कमा तोडफोड गरेका हुन । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो भने दश जनालाई नियन्त्रणमा लिएको छ ।

कृष्ण फाउन्डेशन नामक संस्थाले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी वाटरल्याण्ड पार्कका सञ्चालकसँग समन्वय गरेर विशेष छुटमा टिकट बिक्री गरेको थियो ।

सामान्यतया ९५० रुपैयाँ पर्ने टिकट १०० रुपैयाँमा ई–सेवामार्फत बेचिएपछि शनिबार बिहानै ठूलो संख्यामा विद्यार्थीहरू पार्क पुगेका थिए । तर, पार्कमा ठाउँ अभाव भएको भन्दै कर्मचारीले प्रवेशमा रोक लगाएपछि विवाद सुरु भएको थियो ।

विवादकै क्रममा पार्कका कर्मचारीले विद्यार्थीमाथि हातपात गरेको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरू तोडफोडमा उत्रिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवका अनुसार स्थिति नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएपछि अश्रुग्यास प्रहार गरिएको हो ।

घटनामा संलग्न भएको आशंकामा १० जनालाई पक्राउ गरी सोधपुछ गरिएको र ढुङ्गामुढाबाट ५ जना प्रहरी सामान्य घाइते भएको उनले जानकारी दिए ।

पार्क व्यवस्थापक अभिषेक गोयन्काले कृष्णा फाउन्डेशनले शैक्षिक संस्थाको प्रचारप्रसारका लागि शनिबार बिहान ९ देखि ११ बजेसम्म दुई घण्टाका लागि पार्क लिएको बताए ।

‘पार्कको क्षमता १ हजारदेखि १५ सय जनासम्म अट्ने हो, तर उहाँहरूले २ हजारभन्दा बढी विद्यार्थी लिएर आउनुभयो,’ गोयन्काले भने, ‘विद्यार्थीको संख्या बढी भएकाले व्यवस्थापन गर्न नसक्दा तोडफोडको स्थिति सिर्जना भयो ।’

विद्यार्थीहरूले गेट, लाइट र सजावटका सामग्री तोडफोड गर्दा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिए पनि यकिन विवरण आउन बाँकी रहेको उनले सुनाए ।

कृष्ण फाउन्डेशनले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई आफूले भनेको कलेजमा अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले एक हप्ताअघिदेखि नै वाटरपार्कमा भेला पार्ने योजना बनाएको थियो ।
 

ADV

सम्बन्धित खबर