२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

मानवमुक्त सडकका लागि सहयोग आह्वान

मध्यान्ह
२०८२ जेठ ३ गते २०:५३
मानवमुक्त सडकका लागि सहयोग आह्वान

पोखरा : सडक आश्रित व्यक्तिहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि मानव सेवा आश्रमले सरोकारवाला निकायहरूसँग प्रतिबद्धता माग गरेको छ ।

नेपालभर २० जिल्लामा २६ वटा केन्द्रमार्फत हाल १ हजार ८ सय जनालाई आश्रय दिइरहेको आश्रमले शनिबार पोखरामा आयोजना गरेको ‘सडक मानव व्यवस्थापन तथा उद्धार र राहतका लागि सरोकारवालासँगको अन्तरक्रिया’ कार्यक्रममार्फत मानवमुक्त सडक निर्माणको लक्ष्यसहित पूर्वाधार विकास र सञ्चालन खर्चका लागि सहयोगको आह्वान गरेको हो ।

गण्डकी प्रदेशमा कास्की, बागलुङ, लमजुङ र गोरखामा आश्रम सञ्चालन गरिरहेको संस्थाले आश्रितका लागि आवश्यक पूर्वाधार निर्माण र दैनिक सञ्चालनमा आर्थिक अभाव भएपछि सहयोगको अपेक्षासहित उद्धार र राहतमा प्रतिबद्धता खोजेको मानव सेवा आश्रम कास्कीका संयोजक तथा केन्द्रीय सदस्य सदीश पुनले बताए ।

‘यो हामीले अभियान सञ्चालन गरेपनि सरोकारवालाहरू सबैको साझा दायित्व र कर्तव्य हो,’ उनले भने, ‘त्यसमा सबै जिम्मेवार होस् र अपनत्व लियोस् भनेर प्रतिबद्धता खोजेका हौं ।’

कार्यक्रममा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले २०६९ साल भदौ १३ गते स्थापित मानव सेवा आश्रमबाट हालसम्म ११ हजार सडक आश्रित व्यक्तिहरू लाभान्वित भइसकेको र हाल १ हजार ८ सय जना आश्रित रहेको जानकारी दिए ।

उनले भने, ‘मानवता र मानव सेवाका लागि हामीले यो अभियान सञ्चालन गरेका हौ ं। यो अभियान देशैभर विस्तारको क्रममै छ ।’

गण्डकी प्रदेशमा २०७४ साल चैत १७ गतेदेखि छोरेपाटनमा घर भाडामा लिएर सेवा सुरु गरेको आश्रमले हाल हेमजामा आफ्नै भवन निर्माण गरी सेवा प्रदान गरिरहेको केन्द्रीय सदस्य तथा कास्की संयोजक पुनले जानकारी दिए ।
उनका अनुसार हाल पोखरा–२५ हेमजामा १४० जना पुरुष र छोरेपाटनमा ७७ जना महिला र १३ जना बालबालिकासहित ९० जना गरी कास्कीमा मात्रै २३० जना आश्रित छन् ।

त्यस्तै, बागलुङमा ६२, गोरखामा ३८ (बालबालिका) र लमजुङमा २८ जना आश्रित रहेको उनले बताए। गण्डकी प्रदेशमा हालसम्म १ हजार ३ सय सडक आश्रित व्यक्तिहरूको उद्धार गरिए पनि केहीको मृत्यु भएको र केही पारिवारिक पुनर्मिलनपछि घर फर्किएको उनको भनाइ छ ।

आश्रितलाई सेवा तथा नयाँलाई उद्धार र राहतका लागि बजेट अभाव भएकाले सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको कास्की आश्रमको भवन निर्माण समितिका अध्यक्ष धर्मराज बास्तोलाले बताए ।

‘पूर्वाधार निर्माणमै बजेट अपुग छ । त्यसबाहेक दैनिक सेवाका लागि पनि खर्च पुगेको छैन,’ उनले भने । हाल ६० प्रतिशत खर्च सर्वसाधारणबाट र ४० प्रतिशत खर्च सरकारबाट प्राप्त भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तीनै तहको सरकारको तर्फबाट मानव सेवा आश्रमले महत्त्वपूर्ण सेवा दिइरहेको सुनाए ।

उनले आश्रम सञ्चालनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘’तीनै तहको सरकार यसमा जिम्मेवार भएर सहयोग गर्न तयार छ ।’

ADV

सम्बन्धित खबर