२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सर्लाहीमा २ व्यक्तिलाई सुँगुरको खोरमा थुनेर कुटपिट, अन्सारीद्वारा दोषीमाथि कडा कारबाहीको माग

shivam cement
इसत्याक अहमद
२०८२ जेठ ४ गते १४:५५
Shares
सर्लाहीमा २ व्यक्तिलाई सुँगुरको खोरमा थुनेर कुटपिट, अन्सारीद्वारा दोषीमाथि कडा कारबाहीको माग

सर्लाही : सर्लाहीको पर्सा गाउँपालिका–५ मा भएको एक गम्भीर मानव अधिकार उल्लंघनको घटनाले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध तुल्याएको छ । सामान्य विवादलाई बहाना बनाउँदै तस्लीम अन्सारी र सलिम अन्सारीलाई सुँगुरको खोरमा थुनेर कुटपिट र अपमानजनक व्यवहार गरिएको घटनाले मानवता, सामाजिक सभ्यता र सहअस्तित्वको मूल्यमान्यतालाई गम्भीर चोट पुर्‍याएको छ।

यस घटनाप्रति नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले गहिरो आक्रोश व्यक्त गर्दै यसलाई “सामाजिक एकता, सहिष्णुता र न्यायमूलक राज्य व्यवस्थामाथिको गम्भीर आक्रमण” भन्दै कडा शब्दमा भर्त्सना गरेका छन् ।

अध्यक्ष अन्सारीले भनेका छन्, “समाजमा घृणा फैलाउने, सामान्य विवादलाई साम्प्रदायिक रंग दिने र अपराधीलाई संरक्षण गर्ने मानसिकता भएका व्यक्तिहरूलाई राज्यले कुनै हालतमा क्षमा गर्नु हुँदैन । दोषीहरूलाई तत्काल छानबिन गरी कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।”

सरकार र सुरक्षा निकायप्रति चेतावनी दिँदै उनले थप भनेका छन्, “यदि राज्य यस्ता घटनाप्रति निष्क्रिय रहन्छ भने सामाजिक अशान्ति, साम्प्रदायिक द्वेष र दण्डहीनताको संस्कृति मौलाउनेछ । यसको मूल्य सम्पूर्ण राष्ट्रले चुकाउनुपर्ने स्थिति आउन सक्छ ।”

उनले पीडित परिवारलाई तत्काल न्याय दिन, सुरक्षाको प्रत्याभूति गराउन तथा गरिमासाथ पुनर्स्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग गरेका छन् ।

नेपाल संघीय समाजवादी पार्टीले यस घटनालाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा व्याख्या गर्दै सम्पूर्ण न्यायप्रेमी नागरिक, नागरिक समाज, राजनीतिक दलहरू, मिडिया तथा मानव अधिकार संस्थाहरूलाई यस विषयमा खुला रूपमा आवाज उठाउन आह्वान गरेको छ ।

अध्यक्ष अन्सारीले भनेका छन्, “जात, धर्म, वर्ग वा विचारका आधारमा कसैलाई पनि अपमानित, पीडित वा प्रताडित गर्नु सम्पूर्ण राष्ट्रको हार हो। हामी यस्तो अन्यायलाई कहिल्यै सहन सक्दैनौं र विरोधमा अन्तिमसम्म उभिन्छौं ।”

सम्बन्धित खबर