२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

यार्सा संकलन याम सुरु

पाटनमा १३ जेठदेखि प्रवेश खुल्ने

मध्यान्ह
२०८२ जेठ ४ गते १६:०८
यार्सा संकलन याम सुरु

काठमाडौं :  मुगुको कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि याम सुरु भएको छ ।

यार्सा संकलनको समय सुरु भएसँगै गाउँपालिकाकाले १३ जेठदेखि वन प्रवेश खुला गर्ने भएको हो । गाउँपालिकाका २ दर्जनभन्दा बढी पाटनमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण आउने गर्छन् ।

जिल्लावासीका लागि प्रतिव्यक्ति २ हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि २ हजार ५ सय वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ । वन प्रवेशपछि यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न गाउँपालिकाकाले आग्रह गरेको छ ।

यार्सा संकलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । गाउँपालिकाको वडा नं १ र २ मा रहेका रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका २ दर्जनभन्दा बढी वन तथा पाटनमा यार्सागुम्बा पाइन्छ । वन प्रवेशका लागि गाउँपालिकाले वन प्रवेश शुल्क बुझाएका संकलनकर्ताले १३ जेठ बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने छन् ।

गाउँपालिकाको निर्णयअनुसार १३ जेठपछि मात्र यार्सा संकलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिए पनि यार्सा चोरी गर्नेहरू वन प्रवेश गरिसकेको पाइएको छ । सुुरक्षा चुुनौतीसँगै चोरी गर्ने मनसायले सयौं जना पाटन क्षेत्रमा प्रवेश गरेका छन् । स्थानीयका अनुसार दैनिक २ सयभन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्लाका यार्सा संकलक रातारात पाटन प्रवेश गरेका हुन् ।

अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसी नियम उल्लंघन गर्नेमाथि कडा जरिवाना र कानुनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष यार्सा संकलनमार्फत गाउँपालिकाले ७१ लाख राजस्व संकलन गरेको थियो । यस वर्ष त्योभन्दा बढी ८० लाखसम्म राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

यार्सा संकलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालासँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ । पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कम हुँदै गएको स्थानीयको भनाइ छ । यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप सुरक्षा चुनौती थपिएको छ ।

ADV

सम्बन्धित खबर