काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धानका आयोगले पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र अन्य ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ५ करोड ७९ लाख रुपैयाँ बिगो दावीसहित सामेबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार मुद्दा दायर हुनेमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक र तत्कालीन लेखा अधिकृत निम बहादुर वली रहेका छन् । यसैगरी म्याक्स इन्टरनेसनल प्रालिलाई प्रतिवादी बनाइएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा केन्द्रबाट उपकरण खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । अनुसन्धानका क्रममा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेश भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले सन् ४ असार २०७६मा केन्द्रमा पेश गरेको भ्याटबाहेक २ करोड ६५ लाख रुपैयाँ र अर्को शीर्षकमा भ्याट बाहेक ३ करोड १४ लाख रुपैयाँ म्याक्स इन्टरनेशनललाई भुक्तानी भएको देखिएको, मिलेमतोमा स्वार्थ बाझिने गरी लागत अनुमान तयार गरेको, सम्झौता बमोजिमको कार्य नै नभएको अवस्थामा समेत कार्य भएको भनी रकम भुक्तानी दिए÷लिएको तथ्य भेटिएको अख्तियारको ठहर छ ।
उनीहरूले आफूलाई गैरकानुनी लाभ पु¥याउने तथा नेपाल सरकार÷सार्वजनिक संस्थालाई हानी पु¥याउने बदनियतले उक्त रकम बराबरको रकम बढी भुक्तानी लिइ दिइ भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गतको कसूरजन्य कार्य गरे गराएको हुँदा प्रतिव्यक्ति जनही ५ करोड ७९ लाख रुपैयाँ बिगो र सजायको माग गरिएको आरोप पत्रमा उल्लेख छ ।