सउल : इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।
दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए ।
तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताए ।
घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए । अविवाहित गगनको परिवारमा बाबा आमा र एक बहिनी छन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies